यात्रीले धमाधम चार्जर जडान गर्दै

३ महिना अगाडि

काठमाडौं- नेपाली स्टार्टअप कम्पनी यात्रीले धमाधम चार्जर जडान गरिरहेको छ । कम्पनीले आफ्नै टेक्नोलोजी प्रयोग गरेर १२० किलोवाट क्षमतासम्मका चार्जर जडान गरिरहेको हो ।

चार्जिङ नेटवर्क निर्माणको कामको लागि ‘यात्री इनर्जी’ नामक कम्पनी बनाएर काम गरिरहेको उसले यूएसएडको सहयोगमा चार्जर जडान कार्यलाई तिब्र बनाएको हो ।

‘हामी अहिले चार्जिङ नेटवर्क निर्माणको काम तिब्र गतिमा गर्दैछौं । अहिले बनिरहेका चार्जिङ नेटवर्क ६० र १२० किलोवाट क्षमताका छन् । साथै, यहाँ सीसीएस-२ र जिरवीटी दुबै पोर्ट भएका गाडी चार्ज गर्न मिल्ने छ’, यात्री इनर्जीका चेयरम्यान वत्सल पाण्डेले भने ।

‘यूएसएड उर्जा नेपाल प्रोग्राम’ अन्तर्गत बन्न लागेको १७ वटा चार्जिङ नेटवर्क निर्माणको ठेक्का यात्री इनर्जीले पाएको हो । युवा इन्जिनियरहरुको समूहले बनाइरहेको उक्त चार्जिङ नेटवर्क ‘स्टेट अफ आर्ट’को रुपमा रहने यात्री इनर्जीको दावी छ ।

अहिले यहि कार्यक्रम कार्यक्रम अन्तर्गत दोलखाको चरिकोट, काभ्रेपलान्चोकको धुलिखेल, ललितपूरको पुलचोक, काठमाडौंको चाबहिल, धादिङको चरौदी र तनहुँको आँबुखैरेनीमा पाइलट प्रोजेक्टको रुपमा निर्माण चलिरहेको छ ।

‘हामी चार्जिङको लागि चाहिने हाडवयर मात्रै बाहिरबाट ल्याउँछौं । अरु सम्पूर्ण कुरा हाम्रो आफ्नै हुनेछ । साथै, चार्जिङ म्यानेजमेन्ट सिस्टम समेत हामीले यहि तयार पारेका हौं । यसले इलेक्ट्रीक साधन प्रयोगकर्ताले सहजै चार्जिङ सुविधा लिन सक्नेछन्’, चेयरम्यान पाण्डेले भने ।

यात्री मोटरसाइकल ब्राण्ड स्थापना गरेर चर्चा कमाएको यो समूहले विद्युतीय सवारीसाधनको लागि आवश्यक पर्ने चेन निर्माणमा काम गरिरहेको छ । कम्पनीले पी-१ मोटरसाइकलको सफल उत्पादन गरिसहेको छ ।

पी-१ मोटरसाइकल चाँडै अपग्रेड भएर आउन लागेको कम्पनीको भनाइ छ । लामो समय कानुनी अड्चनमा परेको यात्रीका उत्पादन अब भने सहजै दर्ता लगायतका काम भइरहेको छ । त्यसैले कम्पनीले यसको उत्पादन वृद्धि गर्ने तयारी थालेको जनाएको छ ।

 

३ महिना अगाडि

प्रतिक्रिया