ईपीएस कोरिया शाखाले फिर्ता गर्यो फारम भर्दा बढी काटिएको पैसा

३ महिना अगाडि

काठमाडौँ - रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाका लागि आवेदन फारम भर्दा बढी गएको पैसा फिर्ता गरिएको छ । ईपीएस कोरिया शाखाले आवेदन फारम भर्दा बढी काटिएको पैसा फिर्ता गरेको हो ।ईपीएस मार्फत कोरियामा रोजगारीका लागि गत पुस २ देखि ६ र १६ गतेदेखि २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि आवेदन फारम आह्वान   गरिएको थियो । त्यो बेला १ लाख ६४ हजार भन्दा बढीले आवेदन फारम भरेका छन् ।

 धेरै व्यक्तिले एकैपटक आवेदन फारम भर्ने क्रममा अनलाइन सिस्टम नै स्लो भएको थियो । जसले गर्दा पैसा तिरेको नदेखिने तर, सिस्टमले पैसा भने काटेको थियो । कतिपयको एक पटकभन्दा बढी पटक पैसा काटेको थियो । ईपीएस कोरिया शाखाले उक्त बढी भुक्तानी भएको पैसा फिर्ता गरेको हो । ईपीएस कोरिया शाखाले एक पटकभन्दा बढी आवेदन शुल्क भुक्तानी भएको आवेदकहरूको बढी भुक्तानी भएको शुल्क जुन एकान्टबाट भुक्तानी भएको थियो सोही एकाउन्टमा फिर्ता गरिएको जनाएको छ । परीक्षा फारम भर्दा प्रयोग गरेको आफ्नो एकाउन्ट चेक गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

 यो पटक उत्पादनमूलक क्षेत्रका अहिलेसम्मकै सबैभन्दा बढीले आवेदन फारम भरेका छन् । पानी जहाज निर्माण क्षेत्रका लागि २०२३ मा आवेदन फारम भरेकाहरूलाई समेत अवसर दिएपछि आवेदन फारम भर्नेको संख्या १ लाख ६४ हजार ७१६ पुगेको थियो । आवेदन शुल्क २८ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । उक्त संख्यामा फारम भर्दा ४६ लाख १२ हजार ४८ अमेरिकी डलर शुल्क उठेको थियो । उक्त रकमको नेपाली रूपैयाँमा हिसाब गर्दा (एक डलर बराबर १३२.९८ रूपैयाँ) ६१ करोड ३३ लाख १५ हजार ६७७ हुन आउँछ । 

३ महिना अगाडि

प्रतिक्रिया