भैरहवाबाट छेन्दु सीधा उडानका लागि चीनले सहयोग गर्ने

४ बर्ष अगाडि

नेपालका लागि चीनका राजदूत होउ यान्छीले  सिचुवानको छेन्दु– भैरहवा सीधा उडानका लागि सहयोग र अभिप्रेरित गरिने बताएकी छन् । 

लुम्बिनी चिनियाँका लागि एउटा प्रमुख गन्तव्य भएको बताउँदै राजदूत होउले त्यसका लागि छेन्दुको उडानमा सहयोग गर्ने बताइन् । 

लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमणका लागि बुटवल पुगेकी राजदुत होउले ५ नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलसँगको भेटमा उक्त कुरा बताएकी हुन् । 

उनले त्यसबाट प्रदेश नं ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने विश्वास व्यक्त गरिन् । 

राजदूत होउले नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी रहेको बताउँदै अहिले द्रुत विकासको बाटोमा हिँडेको नेपालका प्रयासमा चिनियाँ साथ रहेको बताइन् । 

केही महिनाअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुगेको उल्लेख गर्दै उनले त्यसका लागि चीनको सँधै सहयोग हुने बताइन् । 

भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको भन्दै यसको विकासका लागि चिनियाँ सहयोगको अपेक्षा रहेको बताए । 

 उनले प्रदेश नं ५ का रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने सरकारको योजनामध्ये एक चिनियाँ ढाँचाको औद्योगिक क्षेत्र होस् भन्ने आफूले चाहेको बताए । 

मुख्यमन्त्री पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सेवा सुधारमा पनि चिनियाँ अनुभवबाट सहयोग पुग्ने विश्वास व्यक्त पनि व्यक्त गरे । 

उनले लुम्बिनी भ्रमण वर्षको समापन तथा बुद्धजयन्ती समारोहमा चिनियाँ राजदूतलाई लुम्बिनीमा निमन्त्रणा गर्नुका साथै राजदूतमार्फत सिचुवानका गभर्नरलाई समेत निम्तो पठाए । 

५ नम्बर प्रदेश र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापित भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया