स्थानीय सरकारले उत्पादन गर्‍यो दुई पाइलट

बुधबार, १४ फागुन २०७६, ०८ : १५

 स्कुले बेलामा उनलाई ‘ठूलो भएर के बन्ने’ भनेर कसैले सोध्यो भने झट्ट जवाफ दिन्थे– ‘पाइलट बन्छु, हवाईजहाज उडाउँछु ।’ जब उच्चशिक्षाका लागि काठमाडौं आइपुगेर कलेज टेके, त्यसपछि के बन्छु भन्ने प्रश्नमा उनको उत्तर अलमलियो किनभने उनलाई पाइलट बन्न लाग्ने खर्च हाल्न आमाबुवाको क्षमता थिएन । 

राजधानीमा बीएस्सी पढ्दै गरेका रुकुम पश्चिमको आठबिसकोट–५ मिगृका ललित भण्डारी र वडा १० का गोविन्द केसीका बाल्यकालका सपना समान थिए र आर्थिक हैसियत पनि उस्तै । गाउँमा कुरा चल्यो । जनप्रतिनिधिसम्म कुरा पुग्यो । त्यसपछि नगरपालिकाले उपाय निकाल्यो– उच्चशिक्षा पढ्न चाहनेलाई सघाउने ।

यतिबेला भण्डारी र केसीले भर्खरै पाइलटको कोर्स पूरा गरेका छन् । अध्ययन र तालिमका लागि नगरपालिकाले एक करोड रुपैयाँ ऋण सहयोग गरेपछि १४ महिने कोर्स पूरा गर्न सम्भव भएको हो । फिलिपिन्सबाट घर फिरेका उनीहरू अब हवाईसेवा कम्पनीले पाइलट माग्दा जान तयार छन् । ‘सानैदेखि पाइलट बन्ने रहर थियो, पैसा थिएन,’ भण्डारीले भने, ‘नगरपालिकाले सहयोग गरेपछि मेरो सपना पूरा गर्न सम्भव भएको हो ।’ कान्तिपुर दैनिकमा खबर छ ।

बुधबार, १४ फागुन २०७६, ०८ : १५

प्रतिक्रिया