बुंगल हाइड्रोपावरले असार २९ गतेदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्ने

आइतबार, २२ असार २०८२, ११ : ४०

काठमाडौं- बुंगल हाइड्रोपावर कम्पनी लिमिटेडले असार २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।  

कम्पनीले  २ लाख ७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई बिक्री गर्न लागेको हो ।

स्थानीय बासिन्दालाई छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अर्थात ५ लाख ३९ हजार ५०० कित्ता सेयरका लागि अति प्रभावित क्षेत्र सुदूर पश्चिम प्रदेश, बझाङ जिल्ला, बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १०) का बासिन्दाहरुले आवेदन दिन सक्नछन् । यस्तै, बाँकी ३५ प्रतिशत सेयर अर्थात २ लाख ९० हजार ५०० कित्ताका लागि सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका वडा नं। १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यता, स्थानीयले छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गते बैकिङ समयसम्म मात्र आवेदन दिन पाउने व्यवस्था छ । दुवैले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपिओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । 

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बंगल नगरपालिका वडा नं. ४, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका वडा नं. १० र आयोजनास्थल बुंगल नगरपालिका वडा नं. ७ बाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
 

 
आइतबार, २२ असार २०८२, ११ : ४०

प्रतिक्रिया