प्रदेश मन्त्री बरालले बर्खास्त गरे अस्पताल नजाने ५ जना चिकित्सक

४ बर्ष अगाडि

प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी विना अस्पतालमा हाजिर नहुने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ५ जना चिकित्सकलाई बर्खास्त गरेका छन् । 

अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर नहुने अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।

उनीहरु कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए । 

सामाजिक विकास मन्त्री बरालले तत्काल बर्खास्त गर्न निर्देशन दिएपछि आफूले उनीहरुलाई बर्खास्त गरेको खनालको भनाई छ । 

केही दिनअघि स्वास्थ्य मन्त्रालयले उपचारमा बाधा पुर्‍याउने डाक्टरको लाइसेन्स खारेज हुने बताएको थियो । 

सिंगो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर विरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती हुने भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गरिएको मन्त्री बरालले बताए । 

सबै अस्पतालमा अनुपस्थित हुनेलाई एकपटक स्पष्टीकरण सोधिने र चित्तबुझ्दो जवाफ नआए बर्खास्त गरिने मन्त्री बराललको भनाई छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया