जीर्ण बन्दै राप्ती पुल

५ बर्ष अगाडि

 

लमही – दाङ देउखुरीको राप्ती नदीमा बनेको पुल जीर्ण बन्दै गएको छ । पुलको अधिकांश ठाउँको कालोपत्रे उप्किएको छ, भने पुल निर्माणका लागि प्रयोग गरिएका फलामका सामग्रीमा खिया लागेको छ । पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय रविलाल आचार्यले बताउनुभयो । “पुलको बीचमा खाल्डाखुल्डी छन्, फलाममा खिया लागेको छ”, उहाँले भन्नुभयो, “यसले दुर्घटनाको जोखिम बढेको छ ।” 

२०५६ सालमा निर्माण भएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएको आचार्यले बताउनुभयो । नदी किनारमा खुलेका क्रसर उद्योगका सवारी साधन ओहोरदोहोर गर्नुका साथै पुल नजिक हुने अवैध उत्खननले पुल जीर्ण अवस्थामा पुगेको उहाँको भनाइ छ । 

“पुलमा क्रसर उद्योगका ठूलाठूला गाडी आवतजावत गर्छन्” उहाँले भन्नुभयो, “पुल नजिकैबाट ढुङ्गा गिट्टी, बालुवा निकाल्ने गरिएको छ, यसले गर्दा पनि पुल जीर्ण बन्दै गएको छ”, स्थानीय चूडामणि पौडेलले भन्नुभयो । पुल निर्माण भएको २० वर्ष पुग्नै लाग्दासमेत मर्मत गर्न कुनै निकायबाट पहल नभएको समेत उहाँको गुनासो थियो । 

लमही–कोइलाबास सडकअन्तर्गत रहेको उक्त पुलको चौडाइ चार दशमलव २० मिटर छ । पुलमा १८ मेट्रिक टनभन्दा बढी भारबहन भएको सवारी साधन चलाउन नपाइने प्राविधिकको भनाइ छ । उक्त पुल हुलाकी सडकअन्तर्गत रहेकाले हुलाकी सडकले मर्मत गर्नुपर्ने सडक डिभिजन दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । पुल निर्माणका लागि पुल महाशाखालाई जानकारी गराएको समेत उहाँले बताउनुभयो । 

५ बर्ष अगाडि

प्रतिक्रिया