काठमाडौं–आफू टेलिभिजन पत्रकार हुँदा अरुलाई नैतिकताको पाठ पढाउँदै हिँड्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई यतिबेला ठूलो नैतिक संकट परेको छ।
विवादित पृष्ठभूमिका व्यापारी जिबी राईसँगको संगत र विभिन्न सहकारी संस्थाको लाखौँ रकम हिनामिना प्रकरणमा मुछिएपछि पूर्व गृहमन्त्री र सांसदसमेत रहेका लामिछाने यतिबेला चर्चाको विषय बनेका छन् ।
रवि लामिछाने व्यक्तिगत वादविवादमा फसेपछि ‘वैकल्पिक राजनीतिक शक्ति’को रुपमा हेरिएको नयाँ राजनीतिक दल रास्वपा समेत विवादमा परेको छ । पार्टीलाई विवादमुक्त बनाउनुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएको अन्य नेताहरूले बताउन थालेका छन् । लामिछाने एक पछि अर्को विवादमा मुछिदै जान थालेका छन् । कुनै न कुनै रुपमा सहकारीको करोडौं रकम अपचलनमा उनको संलग्नता देखिन थालेको छ । यो प्रकरणबाट उम्किन रबीले जुनसुकै हथ्ककण्डा अपनाए पनि सफल हुन सकिरहेका छैनन् ।
यसैबीच सहकारी बचतकर्ताको लाखौँ रकम अपचलन प्रकरणमा एकपछि अर्को लहरो तन्किरहँदा ‘उपसभापति तथा सांसद स्वर्णिम वाग्ले समूह’ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जोगाउने अभियानमा लागेको छ ।
‘रविजी आफैले बुझ्नुपर्ने कुरो हो क्यारे । तर उहाँको बोली र व्यवहारमा एकरुपता देखिएन । उहाँ नैतिकताका ठुल्ठूला गफ गर्नुहुन्छ । उहाँमै नैतिकताको खडेरी देखियो । तर पनि हाम्रो आग्रह छ,सभापतिबाट राजीनामा दिँदा राम्रो हुन्छ,’ रास्वपाका एक सांसदले भने ।
दुई महिना अघिसम्म पार्टीभित्र एकछत्र राज चलाएका लामिछानेलाई हिजोआज उपसभापति वाग्ले समूहले चुनौती थपिरहेको छ ।
पार्टीलाई निजी कम्पनि जसरी चलाउन खोजेको आरोप रबीमाथि लाग्दै आएको छ । रास्वपाका एक केन्द्रीय सदस्यले भने ‘हाम्रो सभापतिजी पार्टीलाई निजी कम्पनी जसरी चलाउन खोज्नुहुन्छ,त्यो अब सम्भव छैन,’ हाम्रो पार्टी एउटा विशाल पार्टी बन्दैछ, रविजीले पनि त्यसैप्रकारको सोच राख्नुपर्छ ।’
ग्यालेक्सी टेलिभिजन छाड्दा सहकारी संस्थाबाट लाखौँ रकम लिएको तथ्य बाहिरिएपछि लामिछानेको चर्को विरोध भइरहेको छ । त्यसले रास्वपामा नैतिकताको घनिभूत बहस सिर्जना भएको छ । पार्टीका प्रभावशाली नेताहरु सभापतिमाथि प्रश्न उठिसकेपछि राजीनामा नै उक्त विकल्प भएको बताउन थालेका छन् । पुराना र परम्परागत दलहरुकै कित्तामा पार्टी पुग्नु परिवर्तन चाहने जनताको आस्थामा ठूलो चोट पर्नु हो भन्ने निष्कर्शमा नेताहरु पुग्न थालेको रास्वपा स्रोतले बताएको छ ।
रास्वपाका एक सांसदले आजको अर्थलाई भने ‘राजनीतिमा नैतिकता हुनुपर्छ। हामीहरू नैतिकताको मूल्य—मान्यता बोकेर राजनीतिक मैदानमा उत्रिएका हौँ । हामीहरूलाई पछि फर्किने छुट छैन । रविजीको बारेमा यत्रो विवाद भइरहेका बेला पदमै बसिरहनु राम्रो होइन । बरु पार्टीको सभापति डीपीजीलाई बनाऊँ । होइन भने उहाँको खास मान्छे मुकुल ढकाल,निशा डाँगी वा दिपक बोहोरा जसलाई बनाए पनि हुन्छ । तर उहाँले नैतिकताचाहिँ देखाउनुपर्छ ।’
प्रतिक्रिया