नेपालको विशिष्ट पहिचान बोकेका वस्तु बजारीकरण हुन सकेको छैनः अर्थमन्त्री महत

३ महिना अगाडि

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । 

नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले अर्थतन्त्र विस्तारै लयमा फर्किएका बताँउदै अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने जनाएका छन् । 

‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ, हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौं, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ, मन्त्री महतले भने, ‘हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ । ब्याजदर घटिरहेको छ, अझैं घट्छ, सेयर बजारमा सुधार भइरहेको छ ।

मुलुकलाई आर्थिक गति दिनका लागि स्पष्ट मार्गचित्र बन्दै गएको अर्थमन्त्री महतको दावी छ। अर्थतन्त्रमा शिथिलता देखिएका कारण बजार चलायमान हुन नसक्दा उपभोक्ता तथा निजी क्षेत्रको घट्दै गएको आत्मविश्वास अहिले सुधार हुँदै गएको मन्त्री महतको भनाई छ । 

‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नु पर्ने छ, त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ, अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो, यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’, मन्त्री डा महतले भने ।

 ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’

नेपालको विशिष्ट पहिचान बोकेका वस्तु र सेवाको पर्याप्त बजारीकरण हुन नसकेको पनि अर्थमन्त्री महतले बताए । वस्तु तथा सेवाको उत्पादन, बजारीकरण र खपतसँग जोडिएका सबै पक्ष मिलेर नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई बढावा दिन जरुरी रहेको उनले उल्लेख गरे । 
 

३ महिना अगाडि

प्रतिक्रिया