सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थानबिच सम्झौता

३ महिना अगाडि

काठमाडौँ- पशुपन्छी अनुसन्धान र विकास, नवीन प्रविधि प्रवर्द्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआइ) बिच सम्झौता भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बुधवार एक कार्याक्रमकाबिच सो सम्झौता भएको हो । सरकारका तर्फबाट पशुपन्छी मन्त्रालयतर्फका सचिव डा.रेवतीरमण पौडेल र आइएलआरआइका तर्फबाट संस्थाका सहायक महानिर्देशक डा.शर्ली तरावलीबिच हस्ताक्षर भएको छ । यस साझेदारीले खाद्य र पोषण सुरक्षा सुधार गर्न, गरिबी न्यूनीकरण गर्न र गुणस्तरीय जीविकोपार्जनका लागि पशुधनको दिगो उत्पादन सुनिश्चित हुने देखिएको छ । 

 यो साझेदारीले दुवै पक्ष नेपालमा जलवायु परिवर्तन, जनसख्या वृद्धि र गरिबीबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न समर्पित छन् र नेपालको कृषि विकास रणनीति (सन् २०१५ देखि २०३५) मा योगदान पुर्‍याउने उद्देश्य राखेको मन्त्रालयले जनाएको छ ।  आइएलआरआइका सहायक महानिर्देशक डा।शर्ली तरावलीले कार्यक्रममा उचित पोषण, बाल कुपोषण न्यूनीकरण, संज्ञानात्मक विकासमा सुधार, खाद्य उत्पादन र स्वास्थ्यको लागि साना किसानको पशुपालन प्रणालीको महत्वबारे प्रकाश पारेकी थिइन् । उनले यी उद्देश्यहरू हासिल गर्नका लागि सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाहरू, द्विपक्षीय विकासका साझेदारहरू र अन्तर्राष्ट्रिय एजेन्सीहरूबिचको समन्वयको आवश्यकतामा जोड दिइन् ।तरावलीले नेपाल सरकारसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै उक्त समझदारीले सानो कदम तर सही दिशामा ठुलो फड्को मारेको बताइन् ।

 कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले नेपालको पशुपालन क्षेत्रमा स्थानीय समस्याहरूलाई समाधान गर्न गरिने अनुसन्धानात्मक कार्यहरूलाई स्तरीय र अन्तर्राष्ट्रिय परिवेश अनुकूल बनाउनु एक चुनौती सो संस्थासँगको सहकार्यले आगामी अनुसन्धानात्मक तथा विकास कार्यहरू बढी फलदायी हुने विश्वास रहेको कुरा बताए । अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थान विश्वव्यापी रूपमा पशुपन्छीको उत्पादन प्रवर्द्धन लगायत पशुपन्छीको क्षेत्रमा वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्था हो । यो एक अनुसन्धानमूलक अन्तर्राष्ट्रिय कृषि अनुसन्धान परामर्शदाता समूह अन्तर्गत रहेका पन्ध्रवटा कृषि अनुसन्धानका केन्द्रहरूमध्ये केन्यामा मुख्यालय रहेको एक गैरलाभकारी अन्तर्राष्ट्रिय सार्वजनिक संस्था हो ।यसले सन् २०१३ देखि अफ्रिका र एसियाका कम र मध्यम आय भएका देशका सरकारसँगको सहकार्यमा ती देशहरूमा विभिन्न स्तरका पशुपन्छी क्षेत्रका गुरुयोजना र लगानी योजना विकास गर्न प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

३ महिना अगाडि

प्रतिक्रिया