निःशुल्क उपचारमा हुने बदमासी रोक्न महानगरले गर्यो नयाँ प्रणालीको विकास

२ महिना अगाडि

काठमाडौँ: १० प्रतिशत निःशुल्क उपचार सेवामा अस्पतालबाट हुने सम्भावित बदमासी र सेवाग्राहीको सेवामा मर्का नपार्न काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले नयाँ प्रणालीको सुरुवात गरेका छन् । 

सेवा दिन र लिन सहज होस् भन्ने उद्देश्यका साथ प्रमुख शाहले प्रभावकारी अनलाइन प्रणालीको विकास गरेका छन् । सो प्रणालीले सेवा प्रदायक र सेवाग्राहीलाई प्रविधिमार्फत काम गर्न सहयोग गर्नुको साथै सम्भावित बदमासी रोक्न सहयोग गर्ने महानगरले विश्वास दिलाएको छ।

कानुनले दिएको अधिकारको कार्यान्वयन गराउन स्वास्थ्य संस्थालाई सहज होस्, लक्षित वर्गले निःशुल्क उपचार प्रभावकारी रूपमा प्राप्त गर्न सकुन् भन्ने हाम्रो चाहना हो,’ प्रमुख बालेनले भनेका छन् , ‘हामीले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली सजिलो र प्रविधि मन्त्री छ । सेवा प्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्छ।

प्रणालीको अभ्यास प्रयोगमा आइसकेपछि यसका सबल र दुर्बल पक्ष थाहा हुने शाहको भनाई छ। समस्या देखिए पछि सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन महानगरपालिकाले फ्रीहेल्थ डट काठमाडौँ डट जीओभी डट एनपी वेभ ठेगानामा प्रणाली विकास गरेको हो । यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ, वेड संख्या कति हो, कतिवडा वेडमा बिरामीले उपचार गराइरहेका छन्, कति वटा खाली छन्लगायत विवरण स्पष्ट देखाउँछ । 

क्षेत्र पाटी निःशुल्क चिकित्सालय र काठमाडौँ मोडेल अस्पतालमा यो प्रणाली परीक्षण भइसकेको छ । यसमा कुन रोगको कति जनाले उपचार गराए, कति दिन गराए, को कहिले भर्ना भयो, कहिले डिस्चार्ज भयो, सबै विवरण उपलब्ध हुनेछन् । सरकारले जारी गरेको विपन्न परिचय पत्र तथा वडाका सिफारिसका आधारमा सेवा उपलब्ध हुनेछ । 

यो सेवा देशभरिका नागरिकका लागि हो । प्रणाली चलाउन युजर नेम र पासवर्ड चाहिन्छ। विभागले माघको २५ गतेदेखि २९ गतेसम्म महानगरपालिका क्षेत्र भित्रका सबै निजी अस्पतालहरूका प्रमुख र मेडिकल रेकर्डरलाई अभिमुखीकरण प्रदान गर्ने योजना बनाएको छ ।  जनस्वास्थ्य विभागका प्रमुख सजिना महर्जनले भनिन्, ‘अभिमुखीकरणपछि अस्पतालहरूलाई प्रणाली चलाउन युजर नाम र पासवर्ड प्रदान गरिनेछ ।’

२ महिना अगाडि

प्रतिक्रिया