जनयुद्ध दिवसकै अवसर पारेर राजा फर्काउने प्रपञ्च

सोमबार, २९ माघ २०८०, १० : १३

काठमाडौं –राजा फर्काउने अभियानअन्तर्गत चलाइएका गतिबिधिहरुप्रति सरकार गम्भीर हुन थालेको छ । फागुन १ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको दुर्गा प्रसाईं नेतृत्वको ’नागरिक बचाउ अभियान’ले काठमाडौँ उपत्यकामा प्रचारप्रसार व्यापक बनाएको छ । यसैबीच उक्त आन्दोलनलाई नियन्त्रण बाहिर जान नदिन सुरक्षा समितिको बैठक समेत बसेको छ ।  

देशभरका सहकारी पीडितलाई काठमाडौँमा भेला पारेर गत मंसिरमा गरेको पहिलो चरणको आन्दोलन खासै प्रभावकारी नभएपछि प्रसाईं टोलीले यसपटक भने सडकमा निस्कनुपूर्व प्रचार बढाएको छ । उपत्यकाका स्थानीय सडकमा नआएसम्म आन्दोलन सफल नहुने निष्कर्ष निकालेको अभियानले काठमाडौँको भित्री बस्ति (कोर सिटी)मा घरदैलो थालेको छ । 

अभियान टोलीलेआज बिहान न्युरोडबाट महांकाल, जुद्धशालिक, ओमबहाल, विशालबजार, ईन्द्रचोक, असन, बाङ्गेमुडा हुँदै ठहिटीसम्म दुर्गाका कार्यकर्ता माइकिङ गर्दै हिँडेका थिए । सानो भ्यानमा प्रसाईंको फोटो र राष्ट्रिय झण्डा अंकित ब्यानर टाँगेर नेवारी बाजागाजासहित उनीहरु चुनावी घरदैलोको शैलीमा शहरको भित्री बस्तीमा खटिएका हुन् । 
देशमा चरम निराशा बढिरहेको बेला हुन थालेको प्रसाईको आन्दोलनप्रति मानिसहरुको मिश्रित प्रतिक्रिया व्यक्त गर्न थालेका छन् । मुलुकको अर्थतन्त्रबारे प्रसाईले गरेका टिप्पणीहरुले मानिसहरुको ध्यान तान्न थालेको छ । उनले भने जस्तै अर्थतन्त्र तहसनहस भएकोले पनि प्रसाई चर्चाको विषय बनिरहेका छन् ।


 

सोमबार, २९ माघ २०८०, १० : १३

प्रतिक्रिया