भाइरल ज्वरोको प्रकोप बढेको कारण विद्यालयको पठनपाठन बन्द

२ महिना अगाडि

काठमाडौँ- भाइरल ज्वरोको प्रकोप बढेको भन्दै दोलखाको बिगु गाउँपालिका–५ चिलंखाको च्यार्सापास्थित सरस्वती प्राथमिक विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक जयबहादुर सार्कीले सूचना जारी गरी आज आइतबार विद्यालय बन्द गर्ने जानकारी दिएका हुन् ।

उनका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरू र विद्यालयको सेवा क्षेत्रभित्र भाइरल ज्वरोको प्रकोप बढ्दा विद्यार्थी संख्या न्यून भएको र विद्यालय नै ठप्प हुने स्थिति आएका कारण एक दिन विद्यालय बन्द गर्न लागिएको हो । योसँगै अब फागुन ८ गतेदेखि मात्रै नियमित पठनपाठन हुने उनले बताए ।

भाइरल ज्वरोका कारण विद्यालय बन्द हुँदा अवरुद्ध भएको पठनपाठन यही फागुन ११ गते पर्ने सार्वजनिक विदाका दिन गरिने पनि विद्यालयद्वारा जारी सूचनामा उल्लेख छ । ११ गते ग्याल्बो ल्होसारको सार्वजनिक विदा छ ।

गत शुक्रबार बसेको विद्यालय स्टाफहरूको बैठकले एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

२ महिना अगाडि

प्रतिक्रिया