इतिहास हेर्दा विष्णु जस्तै पुनको कार्यकालमा पनि बजारले एक बुलिस चरण सम्पन्न गरेको

विहीबार, २४ फागुन २०८०, १६ : ००


काठमाडौँ - बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाको क्याबिनेटमा सोमबार नयाँ गठबन्धन बनेसँगै मन्त्रीमण्डल पनि पूर्णरुपमा पुनर्गठनको प्रक्रियामा रहेको छ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले नै सम्पूर्ण मन्त्रालयको कार्यभार लिएर बसेका छन् ।


यसैबीच अर्थमन्त्री बन्ने सूचीमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको नाम अग्रपंक्तिमा रहेको छ । यस अघि पनि अर्थ मन्त्रालय सम्हालिसकेका हुँदा पुनको नाम भावी अर्थमन्त्रीमा आउनु स्वाभाविक नै रहेको छ । पुन यस अघि २०६८ भदौ १२ गते बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा अर्थमन्त्री नियुक्त भएका थिए । त्यसबेला पनि गठबन्धन सरकारमै अर्थमन्त्री बनेका पुन २०६९ चैत १ गते संविधान सभा नै विघटन भएपछि पद मुक्त भएका थिए । पुन अर्थमन्त्री नियुक्त हुँदा नेप्से परिसूचक ३३८ अङ्कको विन्दुमा रहेको थियो । उनी पदमुक्त हुँदा भने बजार बढेर ५४८ अङ्कको विन्दुसम्म पुगेको थियो । पुन अर्थमन्त्री भएलगत्तै बजारमा केही समय गिरावट आएको थियो भने त्यसपछि करिब ८ महिनासम्म बजार साइडवेजमा चलेको थियो । आठ महिनासम् २९९ को न्यूनतम विन्दुदेखि ३४७ को अधिकतम विन्दुमा साइडवेज चलेको नेप्से परिसूचकमा त्यसपछि भने वृद्धि आएको थियो । पुनको कार्यकालको पहिलो अपट्रेन्डमा बजार ३०० को विन्दुबाट बढेर ४३३ सम्म पुग्न सफल भएको थियो ।

४३३ को विन्दुबाट करेक्सन हुँदै ३६१ को विन्दुसम्म झरेको नेप्से परिसूचकमा त्यसपछि भने इलियट वेभको शैलीमै प्याटर्न बन्दै वृद्धि आएको थियो । पुनको कार्यकालको अन्तिम अन्तिमतिर बजार ५५६ अङ्कको उच्चतम विन्दुमा पुगेको थियो भने पुन पदमुक्त भएका दिन बजार ५४८ को विन्दुमा रहेको थियो । २०६९ चैत १ गते सरकार ढलेसँगै भोलिपल्ट बजारमा उच्च गिरावट आएर बजार ५३५ अङ्कको विन्दुमा झरेको थियो । त्यसपछि ४८२ अङ्कको विन्दुसम्म घटेर बजारले नयाँ र्याली शुरु गरेको थियो । यसरी हेर्दा पुनको कार्यकालमा पनि बजारले एक बुलिस चरण सम्पन्न गरेको थियो । असार महिनादेखि फागुन महिनासम्म गरि ९ महिनामा बजारले ३६१ को विन्दुबाट ५५६ अङ्कसम्म एक पूर्ण बुलिस फेज कायम गरेको थियो ।
 

विहीबार, २४ फागुन २०८०, १६ : ००

प्रतिक्रिया