उपनिर्वाचनले इलाममा चहलपहल

शनिबार, २६ फागुन २०८०, १२ : ४३

काठमाडौँ ।  आउँदो वैशाख १५ गत प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन हुने भएसँगै इलाम २ मा चुनावी चहलपहल बढेको छ । नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले इलाम २ लाई प्रतिष्ठाको विषय बनाएका छन् । सोही अनुरुप आकाङ्क्षीहरूको दौडधुप बढेको छ ।

 


एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने गरी तयारी थालेको छ । जिल्ला सचिवालयको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरिसकेको छ । कार्यदलले आउँदो चैत ३ गतेसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्ने छ । उम्मेदवार हुन इच्छुकले यही फागुन २७ सम्ममा आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्नुपर्नेछ ।  एमाले केन्द्रीय समितिले जिल्लामा पठाएको अन्तर पार्टी निर्देशन (अपानि)मा उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ । उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्डसमेत एमालेले निर्धारण गरेको छ ।  एमालेबाट बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, डा।देवी क्षेत्री दुलाल, दिवंगत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङले आफूलाई बलियो उम्मेदवारका रूपमा उभ्याएका छन् । नेपाली कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का २०७९ मा व्यहोरेको हारलाई जितमा परिणत गर्ने अभियानमा छन् । जिल्लामा कांग्रेसको संगठनभित्र बलियो पकड बनाएका भेषराज आचार्य यस पटक जसरी पनि टिकट लिने र कांग्रेसलाई विजयी गराउने अभियानमा रहेको दाबी गरिरहेका छन् । पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसांसद नगेन्द्र कुमाल पनि कांग्रेसबाट टिकटको दौडमा छन् ।

 

 

वैकल्पिक दलका नेताहरु पनि चुनावी अभियानमा जुटिसकेका छन् । पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने संभावना देखिएको छ । माओवादी केन्द्र परित्याग गरेका पत्रकार मिलन लिम्बु पनि इलाम - २ को उम्मेदवार बन्ने दौडमा छन् । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आन्तरिक रूपमा उम्मेदवार खोजिरहेको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी)जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा), मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय उन्मुक्ति पार्टी (नाउपा) लगायतकादलहरुले पनिआफ्नो उम्मेदवार उठाउने तयारीमा छन् ।यता, जिल्ला निर्वाचन कार्यालय इलामले उपनिर्वाचनको तयारीलाई तिब्रता दिएको छ । निर्वाचन कार्यालयले मतदाता नामावली रुजु गर्ने, निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन गर्ने, मतदान स्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरू यसअघि नै सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले जानकारी दिए ।

 

 

निर्वाचन आयोगको कार्यतालिकाअनुसार उपनिर्वाचनका लागिफागुन २४ देखि ३० गतेसम्म राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ । त्यस्तै चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन मुख्य निर्वाचन अधिकृत नियुक्त गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जनाइएको छ । संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख समेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गतभदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम -२ मा उपनिर्वाच हुनलागेको हो । गतवर्षको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का विरुद्ध एक सय १४ मतको झिनो अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए ।उपनिर्वाचनका लागि ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आयोगका अनुसार इलाममा कुल मतदाता दुई लाख २५ हजार ८० रहेका छन् । इलाम २ को मात्र मतदाता एक लाख १५ हजार चार सय ६७ रहेका छन् ।
 

शनिबार, २६ फागुन २०८०, १२ : ४३

प्रतिक्रिया