काठमाडौँ - धनुषाको बटेश्वर गाउँपालिका–३, मा रहेको सिँचाइ आयोजनाको ट्रान्सफर्मर चोरी भएपछि स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । चालू अवस्थामा रहेको ५० केभिएको ट्रान्सफर्मर चोरी भएको हो ।
तामाको तार र तेल चोरी गरी फालिएको अवस्थामा ट्रान्सफर्मर भेटिएको थियो । किसानको खेतबारीमा सहज सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले धनुषाको नकटाझिजमा रहेको कृषि विकास आयोजनाले २०७४ सालमा सो सिँचाइ आयोजना निर्माण गरिदिएको थियो । सिँचाइका लागि तीन किलोमिटरमा भूमिगत पाइपलाइन विस्तार तथा ठाउँठाउँमा चेम्बर निर्माण गरिएको छ । महारानी डिप ट्युबवेल जल उपभोक्ता समूह मार्फत एक सय बिघा जमिन सिँचाइ हुँदै आएको थियो । उपभोक्ता समूहका अध्यक्ष बद्री महतोले ट्रान्सफर्मर चोरी भएपछि अहिले सिँचाइ रोकिएको बताएकी े छन् । उनले सिँचाइ अभावमा किसानले खतेबारीमा उत्पादन गरेका गहुँ, मकै, उखु लगायतका तरकारी बाली सुक्न थालेको जानकारी दिएका छन्। समूहका अध्यक्ष महतोले सिँचाइ अभावमा २० प्रतिशत किसानको खेतबारी बाँझो रहेको बताउँदै नयाँ ट्रान्सफर्मर उपलब्ध गराइदिनका लागि बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोलाई निवेदन बुझाएको बताउएको छन् ।
निवेदन बुझाएको छ महिना नाघिसक्दा पनि पालिका अध्यक्ष ट्रान्सफर्मर उपलब्ध गराउन गम्भीर नदेखिएको उहाँले आरोप लगाएका छन् । स्थानीय राजकिशोर महतोले आकासे पानी बाहेक सिँचाइको एक मात्र विकल्प भूमिगत सिँचाइ आयोजनको ट्रान्सफर्मर चोरी भएपछि यहाँका किसान सिँचाइ अभावमा खेत बाँझो राख्न बाध्य भएको बताएका छन् । “सामान्य तीन लाख रुपियाँ खर्चेर सिँचाइ आयोजना सुचारु गर्न सकिन्छ । त्यति रकम पनि गाउँपालिका अध्यक्षले बन्दोबस्त गर्न नसक्नु यो ठाउँको दुर्भाग्य हो”, उनले भने । बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले पालिकासँग अतिरिक्त बजेट नभएकाले ट्रान्सफर्मर उपलब्ध गराउन नसकिएको बताएका छन् । उनले भने, “यसपालिको नगर सभाबाट बजेट टाइट बन्यो । कुनै शीर्षकको बजेट कटौती गर्ने अवस्था पनि छैन । त्यसैले ट्रान्सफर्मर उपलब्ध गराउन नसकिएको हो ।” उनले आफूले पनि महेन्द्रनगरस्थित विद्युत शाखालाई ट्रान्सफर्मर उपलब्ध गराइदिन पत्राचार गरेको बताएका छन्।
प्रतिक्रिया