काठमाडौँ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको यस वर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी कार्य अन्तिम चरणका पुगेको छ। ढुवानीको जिम्मा पाएको सिम्रिक एयरको हेलिकोप्टरले नियमित रुपमा ढुवानी गरेका कारण चाँडै ढुवानी भएको हो।
लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नविन आचार्यले कुल यस वर्षको निर्धारित कोटाको सात हजार ८२९ दशमलव ५० क्वीन्टल खाद्यान्न हालसम्म डुवानी भएको बताए। यसमा सुर्खेतबाट निर्धारित कोटाको खाद्यान्न छ हजारमा पाँच हजार १९४ दशमलव २५ क्वीन्टल ढुवानी भई सकेको छ भने नेपालगंजबाट चार हजार क्वीन्टलमा दुई हजार ६३७ दशमलव २५ क्वीन्टल ढुवानी भइसकेको छ। अब दुवै स्थानमा गरी दुई हजार १७० दशमलव पाँच क्वीन्टल खाद्यान्न ढुवानी हुन बाँकी रहेको छ। बाँकी खाद्यान्न पच्चीस दिनभित्र ढुवानी हुनेछ। सो खाद्यान्न नेपालगंज र सुर्खेतबाट ट्रकमा स्थलमार्गबाट सर्केगार्ड गाउँपालिका–६ को खडिखेटसम्म ढुवानी हुने गरेको छ भने त्यसयता भने सिम्रीक एयरको हेलिकोप्टरले ढुवानी गर्ने गरेको छ। हेलिकोप्टरले दैनिक बीसदेखि पच्चीस उडान भर्ने गरेको छ। हेलिकोप्टरले नेपालगंजबाट प्रतिकेजी १४३ रुपैयाँ र सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँमा ढुवानी गरि रहेको हो। खाद्यान्न ढुवानी गत पुस ८ गतेबाट सुरु भएको थियो। त्यसैगरी लिमिटेडका पैदल मार्गको खाद्यान्न हालसम्म् सुर्खेतबाट ८७५ क्वीन्टल। नेपालगंजबाट एक हजार क्वीन्टल, राजापुरबाट १८० क्वीन्टल र धनगढीबाट ५९० क्वीन्टल ढुवानी भइसकेको छ। यसवर्ष भने पैदल मार्गको खाद्यान्न राम्रोसँग ढुवानी भएको हो। यसअघि भने निर्धारित कोटाको ५० प्रतिशत मात्र ढुवानी गरेको थियो।
प्रतिक्रिया