न्यूनतम साझा कार्यक्रमका खाका शीर्ष नेतालाई बुझायो

शनिबार, ०३ चैत्र २०८०, १२ : २०


काठमाडौं,   सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाएको छ ।

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको १० सदस्यीय कार्यदलले आज प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले अन्तिम रुप दिएको सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाएको हो ।यस्तै राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध नेपाल; सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय मस्यौदामा समेटिएको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सत्ता गठबन्धनका शीर्ष नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एककृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको हो ।


कार्यदल संयोजक पौडेलले साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधानलाई फोकस गरिएको बताP । संयोजक पौडेलका अनुसार न्यूनतम कार्यक्रको मस्यौदामा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम नागरिकमा आशाको सञ्चार र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।कार्यदलमा एमाले उपाध्यक्ष पौडेल संयोजक छन् भने उपमहासचिव विष्णु रिमाल, नेकपा माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल तथा जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य रहनुभएको छ । कार्यदलको शुक्रवार बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको थियो । एमाले उपाध्यक्ष पौडेल नेतृत्वमा १० सदस्यीय कार्यदललाई सरकारमा सहभागी पाँच राजनीतिक दलको तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी थियो ।


 

शनिबार, ०३ चैत्र २०८०, १२ : २०

प्रतिक्रिया