मापदण्ड विपरीतका संरचनामा शंखरापुर नगरपालिकाले डोजर चलायो

शनिबार, ०३ चैत्र २०८०, १३ : ४९


काठमाडौँ - काठमाडौँको शंखरापुर नगरपालिकाले स्वीकृति नलिई मापदण्ड विपरीतका सम्पदा क्षेत्रमा व्यक्तिगत लगानीमा बाटो बनाएको भन्दै डोजर चलाएको छ ।

साँखुको ऐतिहासिक सम्पदा बज्रयोगिनी मन्दिर मुनी अवैध ढंगले व्यक्तिगत लगानीमा सडक संरचना बनाएको पाइएपछि नगरपालिकाले एक्सन लिएको नगरप्रमुख रमेश नापितले जानकारी दिए । शनिवार नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, साँखु प्रहरी प्रभाग, नगर प्रहरी सहितको टोलीले शंखरापुर नगरपालिका–७,  देवचाः स्थित अवैध संरचनामा डोजर चलाइएको हो । साँखुको ऐतिहासिक मन्दिर बज्रयोगिनीभन्दा ठिक मुनि रहेको सो ठाउँको बाटो हुँदै हरेक वर्ष चैत शुक्ल पूर्णिमामा मन्दिरबाट बज्रयोगिनी माईलाई साँखु नगर परिक्रमाका लागि ल्याउने गरिन्छ । जुन साँखुको मुख्य पर्वको रूपमा समेत रहेको छ । बज्रयोगिनी माईलाई साँखु बजारमा ल्याउने परम्परागत बाटो भएकोले त्यो क्षेत्रमा सवारी साधन गुड्ने गरी स्थायी संरचना बनाउन नहुने भन्दै स्थानीय सम्पदाप्रेमीहरुले विरोध गर्दै आइरहेका थिए ।

सो अवैध बाटोको संरचना हटाउँदा स्थानीयलाई के कस्तो समस्या पर्छ र त्यसको समाधानका विकल्प के हुन सक्छ भन्ने बारेमा छिट्टै नगरपालिकाले छलफल गरी आवश्यक कदम चाल्ने नगरप्रमुख नापितले बताए ।मन्दिरबाट हरेक वर्ष बज्रयोगिनी माईलाई साँखु बजार परिक्रमा गर्न ल्याउने परम्परागत सडक, पानीको खोल्सो समेत मासेर त्यसमा ह्युम पाइप राखी सडक बनाएको पाइएको उनले बताए । स्थानीयलाई बाटो सहज पार्ने नाममा जग्गा प्लटिङ गरेको क्षेत्रका लागि पहुँच मार्ग स्थापित गर्ने गरी बिना स्वीकृति, बिना मापदण्ड व्यक्तिगत तवरबाट भइरहेको सडक निर्माणको काम रोक्का गरेको र खोल्सो अतिक्रमण गरिएको ह्युम पाइप निकालिएको उनले बताए । नगरपालिकासँग छलफल नगरी आफू खुसी बाटो बनाएका कारण समस्या निस्किएको बताउँदै छलफलबाट नै समस्याको समाधान गरिने प्रवक्ता श्रेष्ठले बताए । यता स्थानीयवासीले सडक आवश्यक परेका कारण सार्वजनिक जग्गामा सडक बनाएको बताएका छन् । सो अवैध संरचना भत्काउन नदिन स्थानीयले अवरोध समेत गरेका थिए ।

शनिबार, ०३ चैत्र २०८०, १३ : ४९

प्रतिक्रिया