नियत सफा राखेर काम गर्दा कसैसँग डराउनु पर्दैन : मेयर बालेन

१ महिना अगाडि

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नियत सफा राखेर काम गर्दा कसैसँग डराउन नपर्ने बताएका छन् । उनले विभागीय कर्मचारीहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन समेत गरे ।

आइतबार महानगरपालिकाका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षको छ महिनाको अर्धवार्षिक प्रगति समीक्षा गर्दै मेयर बालेनले गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गरिने बताए । मेयर बालेनले वर्षौसम्म काम गरिरहेका कर्मचारीहरुको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने बताए । ‘धेरै कार्यक्रमहरुमध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहो्स भनेर हामीले महानगर गौरव र स्वर्णिय योजना कार्यान्वयनमा ल्याएका हौँ । यी कार्यक्रमको कार्यान्वयन गर्ने जिम्मेवारी विभागीय प्रमुखहरुको हो, यसलाई प्राथमिकता राख्नुहोला,’ मेयर शाहले निर्देशन गरे ।‘गलत गर्नुहुँदैन । फेरि गल्ती गर्नेलाई कारवाही गर्नैपर्ने हुन्छ । तर हामीले राम्रो गर्नेलाई प्रोत्साहन पनि गर्दै आएकै छौँ,’ उनले भने, ‘गएको बर्षको तुलनामा यसबर्ष गुनासा कम छन् । सुधारका संकेतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनु, भौतिक प्रगति कति भएको छ, त्यो हेर्नुपर्छ । काम भइसकेपछि भुक्तानी रोकिरहन आवश्यक छैन ।’

१ महिना अगाडि

प्रतिक्रिया