नेपालमा लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौ : राजदूत पार्क

१ महिना अगाडि

काठमाडौँ - नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपालमा लगानी भित्र्याउन अन्तर्राष्ट्रिय समुदायसँग आफूहरूले अपिल गर्ने बताएका छन् । 

शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटका क्रममा राजदूत थेयङले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । उक्त भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए ।  कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार गरी हाल निर्माणाधीन ११ वटा विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी उनले दिए । पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरेका छन् । ठुलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरू स्पष्ट रहेकाले त्यसका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन नेपाल सरकार लागिपरेको समेत उनले जानकारी दिए । 

नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना भएकाले अन्तर्राष्ट्रिय क्षेत्रले लगानी ल्याउन सक्ने अर्थमन्त्री पुनले बताए । संसारका धेरै विकसित मुलुक आजको स्थितिमा आइपुग्न दुई वा तीन पुस्ताले योगदान गरेको भए पनि आधुनिक कोरिया निर्माण गरेको पुस्ताले नै समृद्धिको स्वाद चाख्न पाएको उल्लेख गरे ।  ‘कोरिया एउटै पुस्ताले बनाएको देश हो । जसले भयावह गरिबीको दुष्चक्र पनि भोग्यो र आजको उच्चस्तरको समृद्धि पनि उपभोग गरिरहेको छ’, पुनले भने, ‘कोरियाली विकास मोडलबाट हामीले अनुसरण गर्नुपर्ने धेरै कुरा छन् ।’ राजदूत थेयङले यसअघिका विकास साझेदारी र रोजगारी प्रणाली (ईपीएस) लाई निरन्तरता दिने बताए । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको उनले जानकारी दिए । कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा ईपीएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको जानकारी दिए ।  नेपालको कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको बताउँदै उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न एक केन्द्र स्थापना गरिएको समेत उल्लेख गरे । 

हाल गण्डकीमा सञ्चालित कोरियन भोकेशनल सेन्टरलाई सातवटै प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उनको भनाइ थियो ।  नेपालले आगामी सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएका कारण त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयतन बढाउन चाहेको जानकारी राजदूतले थेयङले दिए । आगामी मे महिनाबाट नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको भन्दै उनले वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन उनले अर्थमन्त्री समक्ष आग्रह गरे । कोरियाले नेपालमा धेरै धन्दा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सृजना होओस् भन्ने चाहना राखेकाले आगामी लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।  ‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु । धेरै देशबाट ठुलो सङ्ख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्’ राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि अपिल गछौं ।’सोही अवसरमा राजदूत थेयङले नेपालले दोहोरो कर प्रणाली र लगानी संरक्षण ग्यारेण्टी गर्नुपर्नेमा भने चासो व्यक्त गरे । राजदूतथेयङले रोजगार प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीहरूका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको जानकारी दिए ।
 

१ महिना अगाडि

प्रतिक्रिया