कन्ट्रोवर्सी क्विन कंगनालाई बिजेपीको टिकट

१ महिना अगाडि

काठमाडौँ - भारतीय जनता पार्टीको पक्षमा खरो समर्थन गर्दै आएकी भारतीय अभिनेत्री कंगना रनौट २०२४ को निर्वाचनबाट औपचारिक रूपमा बिजेपीमा प्रवेश गर्ने भएकी छिन्। 

अभिनयबाट अलग छवि निर्माण गर्न सफल कंगना आगामी लोकसभाको निर्वाचनमा बिजेपीबाट हिमाञ्चलको मन्डीबाट उम्मेदवार बन्ने भएकी छिन्। आइतबार अबेर बिजेपीले पार्टीबाट लोक सभामा उम्मेदवार हुनेहरूको पाँचौँ सूची सार्वजनिक गरेको थियो। जसमा हिमाञ्चलको मन्डी क्षेत्रमा कंगनाको नाम छ। बिजेपीबाट लोकसभाको टिकट पक्का भएपछि उनले ट्विट गर्दै बिजेपीलाई सधैँ सर्त बिना समर्थन गर्दै आएकोमा र पार्टीको राष्ट्रिय नेतृत्वले आफ्नो जन्मस्थानबाट उम्मेदवार बनाएको उल्लेख गरेकी छिन्।

पछिल्लो समय उनी सार्वजनिक मञ्च र सामाजिक सञ्जालमार्फत बिजेपीको पक्षमा आफ्ना धारणा राख्दै बिजेपीको विपक्षीहरू माथि तिखो प्रहार गर्दै आएकी थिइन्। मुख्य त उनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेविरुद्ध दिएको अभिव्यक्तिले उनी विवादमा तानिएकी थिइन्।भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि उनी महाराष्ट्र सरकारको कट्टर आलोचक बनेकी थिइन्। उनी निरन्तर विवादमा आएपछि सरकारले उनलाई वाई प्लस सुरक्षा दिएको थियो। उनको गतिविधिले बिजेपीमा प्रवेश गरेर सक्रिय राजनीतिमा सहभागी हुने अड्कन सुरु भएको लामै समय भए पनि उनी पार्टीमा प्रवेश भने गरिनन्। सन् २०२४ मा भने उनी अब औपचारिक रूपमा बिजेपीमा प्रवेश गर्ने पक्का भएको छ। 
 

१ महिना अगाडि

प्रतिक्रिया