'माधव छन्त्याल'

कविता 'अप्रिल फुल'

४ हप्ता अगाडि

काठमाडौँ संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, आज जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग कोही रिसाउँदैन वा रिसाउनुहुन्न भन्ने भास्य जिवित रहेको छ । 

'अप्रिल फुल'
यो ब्रह्माण्ड नै दाउमा लाएर
खास मानिसहरु खेलिरहेछन् अनेक खेल
रचिरहेछन् अनेक षड्यन्त्र
तिमिभने मनाइरहेछौ ‘अप्रिल फुल’ ।

मान्छे त के हो र
जिवन त के हो र
भोक र रोगले गनिरहेछ विश्वभर
मानिसको लास माथि लास
उत्पिडनको ग्याँस च्याम्बरमा
थुनिइरहेकै छन् अझै कैयौ मानिसहरु
पुजिँवादको डम्पिङ साइटमा
फालिएकाछन् कैयौ उज्जवल भविष्यहरु
तिमिले गर्न के भो त सिर्फ चरित्र हत्या
थप्न के भो र
मृतक वा घाइते चरित्र एक दुई
मनाउ
आजै मनाउ तिम्रो ‘अप्रिल फुल’ ।

भावना के हो र 
मानिस जो केवल फ्युल र कामको
बनाइएका छन् कलपुर्जा
प्रेमले पुजिँको बजारमा
खोज्दै छ गतिलो उपभोक्ता
सुन्दरताका माल मानकहरु
केवल घुमिरहेका छन् बजारको हत्केलामा
भावनाका फराकिला आयामहरु
थन्किरहेका छन् केवल एसएमएसहरुमा
विचारको त लिलामि भएको छ लिलामि
तिमि एउटा न हौ
किन बस्छौ अडिएर
खेल भावना माथि
उफ्रि उफ्रि खेल
टुक्रा टुक्रा पार
मनाउ यसरी नै तिम्रो ‘अप्रिल फुल’ ।

लाज र डर किन
सत्ता त आफ्नो चरित्रबाट अलग्गिएर
बस्न चाहेन जनताको माझ
गर्न छोडेन कुनै घिनौना चर्तिकला
मानेन कहिल्यै लाज, घिन र डर
उत्पिडितको सपना माथि खेल्न
कहिल्यै मानेन अप्ठ्यारो
बरु लुकाइरह्यो यथार्थ
तिमि त जनता हौ
निरिह जनता
तिम्लाई पनि यति त छुट हुनै पर्छ
खेल तिम्रा सोसियल साइटमा
अनसोेसियल गेम
औला चलाएर खेल
दिमाग चलाएर खेल
तिमिलाई पनि त लाज, घिन र डर ढाक्ने
सत्ताको हतियार जस्तै
‘अप्रिल फुल’ छदैछ ।

बरु मर्न देउ
तिम्रा प्रश्नहरु
तिम्रा चेतनाका लहरहरु
तिम्रा भावनाका अनेक आयामहरु
गर
मज्जाले गर कसैको चरित्रहत्या
मज्जाले गर कसैको भावना माथि खेलवाड
मनाउ वर्षको एक दिन यसरी नै
विजय उत्सव जसरी मनाउ
मन र चरित्रको रक्ताम्य मैदानमा
‘अप्रिल फुल’ ।

कवि माधव छन्त्याल सरस्वती आधारभूत विद्यालय तमानखोला ४ लाम्मेला  बाग्लुङ् को विज्ञान शिक्षक हुन ।

४ हप्ता अगाडि

प्रतिक्रिया