हाल जारी द्वन्द्वबीच इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्या गर्ने इजरेली योजनालाई राम्रो सोच नभएको भन्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अस्वीकार गरिदिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
आफ्नो अस्तित्वमाथि खतरा उत्पन्न गराउने इरानको परमाणु क्षमतालाई नष्ट पार्ने इजरेलको घोषित लक्ष्यबाहेक इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अहिलेको सैन्य हमला त्यहाँ सत्ता परिवर्तनको कारक हुन सक्ने बताएका छन्।
यसअघि नेतन्याहूले इरानका जनतालाई सीधै आह्वान गर्दै त्यहाँका नेताहरूविरुद्ध बाहिर आउन अनुरोध गरेका थिए।
इरानका सर्वोच्च नेता को हुन्, देशमा उनको शक्ति कति छ र मुलुकको राजनीतिमा उनको परिवारको भूमिका के हुन्छ भन्नेबारे हामी यहाँ चर्चा गर्दै छौँ।
आयतोल्लाह अली खामेनेई सन् १९७९ को इस्लामिक क्रान्तियताका दोस्रो सर्वोच्च नेता हुन् र सन् १९८९ यता उनी सर्वोच्च पदमा छन्। युवा इरानीहरूले अली खामेनेई सर्वोच्च पदमा नरहेको शासनकाल भोग्न पाएका छैनन्।
उनी इरानी सत्ताको एउटा जटिल जालोको केन्द्रमा छन् जो सार्वजनिक नीतिसम्बन्धी मामिला एवम् सार्वजनिक पदका उम्मेदवार चयन प्रक्रियामा विशेषाधिकार प्रयोग गर्ने अधिकार राख्छन्।
राष्ट्रप्रमुख तथा सेनाप्रमुखको हैसियतले उनको पदलाई एकदम शक्तिशाली बनाएको हो। सेनाभित्र इरानी रेभोलुशनरी गार्ड कोर (आईआरजीसी) पनि पर्छ।
आयतोल्लाह अली खामेनेई इरानको सत्ताको केन्द्रमा रहेका छन् । अली खामेनेई इरानको दोस्रो ठूलो शहर मश्हादमा सन् १९३९ मा जन्मिएका हुन्। धार्मिक परिवारमा जन्मिएका उनी आमाबुवाको आठमध्ये दोस्रो सन्तान हुन्।
इरानमा वर्चस्व रहेको शिया मुस्लिम समुदायका उनका बुवा मध्यम तहका धार्मिक गुरु थिए।
अली खामेनेईको अध्ययनमा कुरानको शिक्षा मुख्य रूपमा रहेको छ। एघार वर्षका उमेरमा उनी धार्मिक गुरुका रूपमा दीक्षित भएका थिए।
तर धार्मिक गुरुहरूको भूमिका आध्यात्मिकभन्दा राजनीतिक बढी हुने गरेको अभ्यासबीच अली खामेनेईको पनि सोही किसिमको भूमिका रह्यो।
एक प्रभावकारी वाक्पटु अली खामेनेई इरानका शाहको आलोचक खेमामा जोडिए। इरानको राजतन्त्र इस्लामिक क्रान्तिबाट फालिएको थियो।
कैयौँ वर्षसम्म उनी भूमिगत रहे अथवा उनले जेलमा बिताए। उनी शाहका गोप्य प्रहरीहरूद्वारा छ पटकसम्म गिरफ्तारीमा परे( सो क्रममा यातना झेल्नुका साथै उनी आन्तरिक रूपमा निर्वासित पनि भए।
सन् १९७९ को इस्लामिक क्रान्तिको एक वर्षपछि आयतोल्लाह रुहुल्लाह खोमेईनीले राजधानी तेहरानका लागि उनलाई शुक्रवारको साप्ताहिक प्रार्थनाका नेतृत्वकर्तामा चयन गरे।
पछि अली खामेनेई सन् १९८१ मा इरानको राष्ट्रपति पदमा निर्वाचित भए। सन् १९८९ मा उनलाई धार्मिक अगुवाहरूले आयतोल्लाह खोमेईनीका उत्तराधिकारीका रूपमा चयन गरे। छयासी वर्षको उमेरमा खोमेईनीको निधन भएको थियो।
उनका छोरा मोज्तबा कति शक्तिशाली छन् ?
अली खामेनेई विरलै विदेश जान्छन् र मध्य तेहरानमा आफ्नी श्रीमतीसँग उनले साधारण जीवन बिताउँदै आएको बताइन्छ।
उनलाई बगैँचामा फूलहरू हेर्न र कविता मन पर्ने बताइन्छ। जवानीमा उनले धूमपान गर्ने गरेको बताइन्छ जुन कुरा इरानमा धार्मिक गुरुहरूबीच स्वाभाविक मानिँदैन।
सन् १९८० को दशकमा गरिएको खामेनेईको हत्या प्रयासपछि उनको दाहिने हातले काम गर्न छोडेको हो।
उनी र उनकी श्रीमति मन्सुरेह खोज्स्तेह बकेरजादेहका चार छोरा र दुई छोरी छन्।
सार्वजनिक कार्यक्रम अथवा सञ्चारमाध्यममा खामेनेईको परिवार विरलै देखिन्छ भने उनका सन्तानहरूको निजी जीवनबारे आधिकारिक र प्रमाणित सूचना सीमित मात्रामा मात्रै पाइन्छ।चार छोरामध्ये माहिला छोरा मोज्तबा चाहिँ आफ्नो प्रभाव र बुवाको भित्री ‘सर्कल’मा महत्त्वपूर्ण भूमिका खेल्ने गरेका कारण परिचित छन् ।
मोज्तबा खामेनेई अली खामेनेईका माहिला छोरा हुन्
मोज्तबाले तेहरानस्थित अलावी हाई स्कूलमा अध्ययन गरेका हुन्। उक्त स्कूलमा धेरैजसो इस्लामिक गणतन्त्रका उच्च पदस्थ अधिकारीका छोराछोरी पढ्ने गरेका छन्।
मोज्तबाको बिहे एक अग्रणी रूढीवादी गोलाम अली हदाद आदेलकी छोरीसँग भएको छ।
धार्मिक गुरु नहुँदै र कोम शहरमा उच्च शिक्षाको योजना बनाइरहँदा उनको बिहे भएको थियो।
तीस वर्षको उमेरमा उनले कोम सेमिनरीमा औपचारिक धार्मिक अध्ययन शुरू गरे।
सन् २००० को बीचको दशकदेखि राजनीतिक वृत्तमा मोज्तबाको प्रभाव प्रस्ट रूपमा देखिन थाल्यो। हुन त यो कुरा सञ्चारमाध्यममा विरलै स्वीकार गरिएको छ।
सन् २०२४ को विवादास्पद राष्ट्रपतीय निर्वाचनका बेला महमुद अहमदीनेजादको पक्षमा पर्दा पछाडिबाट काम गरेको भन्दै राष्ट्रपति पदका एक अग्रणी उम्मेदवार मेहदी करोबीले अली खामेनेईलाई एउटा खुलापत्र लेखेपछि मोज्तबा थप चर्चामा आएका थिए।
इरानमा सन् २०१० यता उनी अति शक्तिशाली व्यक्तिमध्येका एकका रूपमा मानिने गरिन्छन्।
अपुष्ट विवरणहरूका अनुसार खामेनेईले आफूलाई प्रतिस्थापित गर्ने रुचाइएका उम्मेदवारका रूपमा मोज्तबालाई लिने गरेका छन्। तर कतिपय आधिकारिक स्रोतहरूले यो कुरालाई अस्वीकार गरेका छन्।
हुन त अली खामेनेई कुनै राजा होइनन् र उनी आफ्ना छोरालाई सजिलै गद्दी हस्तान्तरण गर्न सक्दैनन्, तर आफ्ना बुवाको ुसर्कलुभित्र मोज्तबाको उल्लेख्य सामर्थ्य रहेको छ। त्यसमा सर्वोच्च नेताको कार्यालय पनि पर्छ जसले संवैधानिक निकायहरूलाई समेत छायामा राख्छ।
मुस्तफा खामेनेई चाहिँ परिवारका जेठा छोरा हुन्। उनकी श्रीमती अजिजोल्लाह खोस्वाग्तकी छोरी हुन् जो रुढीवादी धार्मिक गुरु हुन्।
सन् १९८० को दशकमा भएको इरान(इराक युद्धका बेला मुस्तफा र मोज्तबा दुवैले अग्रपङ्क्तिमा लडाइँ गरेका थिए।
सन् २०१७ को मेमा तेहरानमा देखिएका मेयसामतस्बिर स्रोत,ब्ँएरन्भततथ क्ष्mबनभक
तस्बिरको क्याप्शन,मेयसाम अली खामेनेईका सबैभन्दा कान्छो छोरा हुन्
अली खामेनेईका साहिँला छोरा मसूदको जन्म सन् १९७२ मा भएको हो। उनले सुसन खराजीसँग बिहे गरेका छन्।
सुसन कोम सेमिनरीको शिक्षक सङ्घसँग आबद्ध चिरपरिचित धार्मिक गुरु मोहसिन खराजी र सुधारवादी झुकाव भएका पूर्वकूटनीतिज्ञ मोहम्मद सादेग खराजीकी बहिनी हुन्।
मसूद खामेनेई राजनीतिदेखि टाढा बस्दै आएका छन् र सार्वजनिक रूपमा उनीबारे खासै जानकारी छैन। उनले आफ्ना बुवाको जीवनवृत्तान्त र संस्मरणहरू सङ्कलन गर्दै आएका छन्।
अली खामेनेईका कान्छा छोरा मेयसामको जन्म चाहिँ सन् १९७७ मा भएको हो। आफ्ना तीन दाजुहरू जस्तै उनी पनि एक धार्मिक गुरु हुन्।
उनकी श्रीमतीको नाम सञ्चारमाध्यममा आएको छैन। उनी एक सम्पन्न तथा प्रभावशाली व्यापारी महमुद लोलचिआनकी छोरी हुन्।
लोलचिआनले सन् १९७९ को क्रान्तिअघि धार्मिक गुरुहरूलाई आर्थिक रूपमा सघाउँदै आएका थिए।
मेयसामले आफ्ना दाजु मसूदसँगै आफ्ना बुवाका कामहरूको संरक्षण तथा प्रकाशनसम्बन्धी कार्यालयमा काम गरेका छन्।
दुई छोरी
अली खामेनेईका दुईजना छोरीबारे सार्वजनिक जानकारी खासै धेरै छैन।
बुशरा र होदा खामेनेईका कान्छा सन्तान हुन्। उनीहरूको जन्म सन् १९७९ को इस्लामिक क्रान्तिपछि भएको हो।
बुशराको जन्म सन् १९८० मा भएको हो। उनको बिहे खामेनेईको कार्यालयका ‘चीफ अफ स्टाफ गोलामहोसैन मोहम्मद गोल्पयेगनीका छोरा मोहम्मद जवाद मोहम्मदी गोल्पयेगनीसँग भएको छ।
होदा अली खामेनेई परिवारको सबैभन्दा कान्छी हुन् जसको जन्म सन् १९८१ मा भएको थियो। उनको बिहे मेस्बाह अल होदा बगेरी कानीसँग भएको छ। मार्केटिङ विषय पढेका उनी इमाम सादिक विश्वविद्यालयमा अध्यापन गर्छन्।
बीबीसी न्यूज पर्सिअन
प्रतिक्रिया