काठमाडौं— सवारी व्यवसायमा सुधार र यात्रुहरूलाई गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले महानगर यातायात सेवा प्रालिले आफ्नो सवारी साधनहरूमा कार्यरत कर्मचारी, सञ्चालक, चालक तथा सहचालकहरूलाई जिम्मेवार र अनुशासित भएर सेवा प्रवाह गर्न आग्रह गरेको छ।
संस्थाले आफ्नो स्थापना कालदेखि नै सुरक्षित, भरपर्दो र समयमै सेवा प्रवाह गर्ने लक्ष्य राख्दै आएको छ। तर हालका दिनहरूमा यात्रुहरूबाट असन्तुष्टि र गुनासोहरू बढ्दै गएको देखिएकोले सुधारात्मक कदम चाल्न जरुरी भएको जनाएको छ।
संस्थाका अनुसार कतिपय कर्मचारीहरूबाट यात्रुहरूसँग दुर्व्यवहार, सवारी समयमा लापरवाही, सवारी साधन रोक्ने क्रममा अनुशासनहीनता जस्ता गतिविधिहरू भएको गुनासोहरू प्राप्त भएको छ। यस्ता व्यवहारले संस्थाको छवि, व्यवसाय, र आम यात्रुहरूको विश्वासमा आँच पुग्ने भएकाले अबदेखि यस्ता गतिविधि कडाइका साथ नियन्त्रण गरिने चेतावनी दिइएको छ।
साथै, संस्थाले सवारी साधनहरू तोकिएको मार्ग, स्टपेज, र गन्तव्य अनुसार चलाउनुपर्ने, चालकरसहचालकहरूले सरसफाइ, पोशाक, व्यवहार र सेवामा अनुशासन कायम गर्नुपर्ने स्पष्ट रूपमा उल्लेख गरेको छ।
यातायातका सवारीचालकहरूले अबदेखि यात्रुलाई अभद्र व्यवहार गर्नु, तोकिएको ठाउँमा गाडी नरोकिनु, चर्को स्वरमा म्युजिक बजाउनु, गाडी जथाभावी चलाउनु वा सवारी समयमा मोबाइल प्रयोग गर्नु जस्ता कार्यहरूमा संलग्न भएमा कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ।
महानगर यातायात सेवा प्रालिले सबै सवारीकर्मी र कर्मचारीहरूलाई व्यवसायिक मर्यादा कायम राख्दै यात्रुहरूप्रति जिम्मेवार र अनुशासित भएर काम गर्न अनुरोध गरेको छ।
“हामी सबै मिलेर मात्र व्यवस्थित सार्वजनिक यातायात प्रणाली विकास गर्न सक्छौं।” यातायातले जारी गरेको सूचनामा भनिएको छ ।
यस यातायातले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको र यस क्रममा समस्या झेल्नुपरेको बताएको छ । साथै महानगर यातायातकै नाम प्रयोग गरी नक्कली यातायातहरु सञ्चालनमा ल्याइएको गुनासो पनि यातायातले राखेको छ । यस यातायातले हालसम्म नक्कली नाम राखेका यातायातसँग नम्र व्यवहार गर्दै आएपनि अझैपनि कम्पनीको नाम र रंगको डिजाइन ती सवारी साधनले नहटाएमा क्षतिपूर्तिको मागसहित कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया