भरतपुर महानगरकी मेयर दाहालको सचिवालय प्रमुख नै सवारीचालक परीक्षाको अनियमिततामा संलग्न

बुधबार, ०४ असार २०८२, १० : ५९

काठमाडौं- भरपुर महानगरकी मेयर रेणु दाहालको सचिवालय प्रमुख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको अनियमिततामा मुछिएपछि विवादमा तानिएकी छिन् । रेणुको दुई कार्यकालमै सचिवालयमा रहेर प्रेस सल्लाहकारको जिम्मेवारी पाएका सुरेशचन्द्र अधिकारीको महालक्ष्मी ड्राइभिङ सेन्टरले भरतपुरमा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको अनियमितता संलग्न रहेको खुलेको छ । 

आफ्नो ड्राइभिङ सेन्टरले मात्रै ट्रायल लिन पाउने यातायात व्यवस्था कार्यालयसँग सेटिङ मिलाएर लुटधन्दा चलाइएको उजुरी अख्तियारमा परेपछि गत शुक्रबार भरतपुरस्थित यातायात व्यवस्था कार्यालयमा छापा हानेको थियो । त्यसक्रममा बिचौलिया र यातायातका कर्मचारी २ लाख नगदसहित पक्राउ परेका छन् । 

मेयर रेणुको सचिवालयका प्रमुख हर्ताकर्ता रहेका अधिकारीले सञ्चालन गरेको चितवन भरतपुर–८स्थित उक्त ड्राइभिङ सेन्टरमार्फत ट्रायल परीक्षामा फेल भएका परीक्षार्थीहरुसँग पैसा लिएर पास गराइएकोे विषय बारम्बार सञ्चारमाध्यमबाट सार्वजनिक हुँदै आएको थियो । यातायात कार्यालयमा छापा हानेर दुई लाख नगदसहित कागजात र मोबाइल अख्तियारले बरामद गरेको छ । 

यातायात व्यवस्था कार्यालय चितवनका कर्मचारी इन्द्रजित गुरुङसहित उनको कार्यकक्षबाटै बिचौलिया सुरज पाठकलाई करिब दुई लाख नगदसहित पक्राउ गरेको हो । 
बिचौलिया पाठक रेणुका प्रेस सल्लाहकार रहेका अधिकारीको ड्राइभिङ सेन्टरका सवारी प्रशिक्षक रहेको खुलेको छ । यसले पनि मेयर रेणुकै सचिवालयको नै सवारी लाईसेन्स परीक्षाको अनियमिततामा सिधा संलग्नता रहेको देखाउँछ । यद्यपि, अनुसन्धानकै चरणमा रहेकाले यसको न्यायिक निरुपण सम्बन्धित निकायबाट होला । 

तर, पटक पटक सार्वजनिक गुनासो हुँदा पनि सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को परीक्षाका लागि लिइने ट्रायलमा उनको ड्राइभिङ सेन्टरले एकाधिकार कायम गर्दै आएको थियो । मेयरकै सचिवालयमा रहेका अधिकारीकै ड्राइभिङ सेन्टर भएकाले यसको नियमनमा सरोकारवाला निकाय सबै बेबखबर देखिएका थिए । भरतपुरमा खुलेयामा लुटधन्दा चलाएको चौतर्फी गुनासो आएर अख्तियारमा उजुरी परेपछि मात्रै अनुसन्धान अघि बढेको हो ।

भरतपुर महानगर प्रमुख मेयर रेणुकै दबाबमा चितवनभरको ट्रायल परीक्षा लिने व्यवस्था अधिकारीकै महालक्ष्मी ड्राइभिङ सेन्टरलाई मात्रै दिलाइएको थियो । उनकै सचिवालयमा रहेका अधिकारीले रेणुकै जोडबलले चितवनमा आफ्नो ड्राइभिङ सेन्टरले मात्रै ट्रायल लिने व्यवस्थासहित एकल साम्राज्य खडा गरेका थिए । यसमा माओवादी अध्यक्ष प्रचण्डको पनि प्रमुख भूमिका र निकट सम्बन्ध रहेको चितवनकै माओवादी नेताहरु बताउँछन् ।

सवारी चालक अनुमतिपत्र(लाईसेन्स)को परीक्षामा अनियमितताको आरोप लागका रेणुका प्रेस सल्लाहकार अधिकारी माओवादी निकट प्रेस सेन्टरको वरिष्ठ उपाध्यक्ष समेत हुन् । गत चैतमा सम्पन्न प्रेस सेन्टरको पाँचौ महाधिवेशनबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

उनलाई जिताउन समेत भरतपुरकी मेयर रेणु र उनका पिता पुष्पकमल दाहाल प्रचण्डले निकै दौडधुप गरेका थिए । उनका निकटतम प्रतिस्पर्धीलाई हराउन खुमलटारबाटै सम्पूर्ण शक्ति परिचालन गरिएको त्यसबेला निकै चर्चा चलेको थियो । प्रचण्ड र छोरी रेणु दुबैको विश्वासपात्र रहेका अधिकारी दुई कार्यकाल नै रेणुको सचिवालयमा रहिसकेका व्यक्ति हुन् । अहिले उनी आफैं विवादमा परेयता मेयर समेत तानिने भयले सचिवालयबाट बाहिरिन खोज्दा समेत प्रचण्डकै आर्शीवादले पद जोगाउन सफल भएका छन् । 

यसले पनि प्रचण्ड बाउछोरीको उनीप्रति अतिरिक्त मोह रहेको दर्शाउँछ । पटक पटक अधिकारीको महालक्ष्मी ड्राइभिङ सेन्टरको एकाधिकार विरुद्ध भरतपुरका अन्य ड्राइभिङ सेन्टर सञ्चालकहरुले गुनासो गर्दा पनि कुनै रोकतोक नहुनेले उच्चतहसम्म सञ्जाल रहेको प्रष्टै हुन्छ । अधिकारीले यातायात कार्यालयसँग मिलेर निर्वाध ढंगले लाईसेन्स परीक्षामा अनियमितता गर्दै आउनु त्यसकै उपज हो ।

प्रचण्ड र रेणुकै जोडबलमा जिल्लाकै सवारी चालक अनुमतिपत्रका लागि ट्रायल लिने व्यवस्था आफ्नो ड्राइभिङ सेन्टरमा मात्रै मिलाउन सक्ने सामथ्र्यले पनि उनी प्रचण्ड बाउछोरीको अत्यन्त विश्वासपात्र रहेको प्रमाणित हुन्छ । प्रचण्ड बाउछोरीको आडमा अधिकारीले सत्ता र शक्तिको कुन हदसम्म दुरुपयोग गरेर लाइसेन्समा एकाधिकार कायम गरेका रहेछन् भन्ने यसले दर्शाउँछ । 

केही समय अघि स्थलगत रिपोर्टिङका लागि गोप्यरुपमा त्यहाँ पुग्दा सवारी चलाउन नजाने पनि लाइसेन्स दिलाइदिने र त्यसबापत मोटो रकम चाहिने अधिकारीको ड्राइभिङ सेन्टरका कर्मचारीहरुले पत्रकारसँग बताएको विषय सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । तर त्यसतर्फ कुनै पनि सरोकारवाला निकायको ध्यान गएन । अहिले भरतपुरमा रेणुले उल्लेख्य काम गरेको दाबी माओवादी नेताहरुले गरिरहँदा आफ्नै सचिवालयका प्रमुखको अनियमितता प्रकरण बाहिरिएपछि माओवादी वृत्तमा सन्नाटा छाएको छ भने प्रचण्ड र मेयर रेणुमाथि समेत यसले गम्भीर नैतिक प्रश्न उठाएको छ ।

भरतपुरमा विकास र निर्माणमा उल्लेख्य फड्को मार्न सफल भन्दै उनको चर्चा निकै चलाइएको थियो । यता, उनकै सचिवालय प्रमुखकै अनियमितता सार्वजनिक भएपछि निष्कासन गर्न समेत नसक्नुले विकास निर्माणको आवरणमा सचिवालयमार्फत लुटधन्दा चलाइएको चितवनकै एक माओवादी नेताले गुनासो गरे ।

ती नेताका अनुसार, चितवनभर लाइसेन्स परीक्षामा ट्रायल लिने एकाधिकार कायम गराउन प्रमुख भूमिका रेणुले खेलेको र त्यसकै बलमा लाइसेन्स परीक्षामा अधिकारीको मनोमानी चलेको हो ।  आर्थिक दैनिकबाट

बुधबार, ०४ असार २०८२, १० : ५९

प्रतिक्रिया