इन्दिरा गान्धीलाई गोली लागेर अस्पताल पुर्‍याउँदा उनका अन्तिम क्षणहरू यस्ता थिए

आइतबार, १५ असार २०८२, १४ : ५८

स्नेह भार्गव हालसम्मकै एम्सकी एक मात्र महिला निर्देशक हुन् । स्नेह भार्गवको जीवनका धेरै प्रसङ्ग सामान्य लाग्दैनन्।

सन् १९८४ मा उनी भारतको राजधानी दिल्लीस्थित अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) को नेतृत्व गर्ने पहिलो महिला बनेकी थिइन्।

एम्स भारतका शीर्ष चिकित्सा संस्थानमध्ये एकमा पर्छ। उक्त संस्थाको लगभग ७० वर्षे इतिहासमा हालसम्म त्यसको नेतृत्वमा पुग्ने एक मात्र महिला भार्गव नै हुन्।

भारतका अग्रणी रेडियोलोजिस्टमध्येकी एक डा भार्गवले ९० वर्षको उमेरमा आफ्नो संस्मरण लेख्न थालिन्।

उनको पुस्तक ‘द विमिन हू रन एम्स ’यसै महिनाको सुरुमा प्रकाशित भएको छ र उनी ९५ वर्षको उमेरमा पनि भारतको चिकित्सा समुदायकी एक सक्रिय सदस्यका रूपमा रहेकी छन्।

सन् १९४० को दशकमा भारतमा रेडियोलोजीको उदय हुँदै गर्दा उक्त विधा छनोट गर्नेदेखि त्यसको अभ्यास गर्नेमध्ये एकजना प्रसिद्ध व्यक्ति बन्नेसम्म डा भार्गवको जीवनको असाधारण यात्रा निकै रोचक छ।

अस्पताल ल्याउँदा इन्दिरा गान्धीको अवस्था
९० वर्षसम्म स्नेह भार्गवले रेडियोलोजिस्टका रूपमा काम गरिन् । एम्स निर्देशकका रूपमा उनले पहिलो दिन नै जस्तो काम गर्नु पर्‍यो त्यो आगोसँग खेल्नु बराबर थियो।

सन् १९८४ अक्टोबर ३१ को बिहान भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले उनलाई निर्देशकका भूमिकामा छनोट गरेपछि उनको नियुक्तिलाई अनुमोदन गर्न अस्पतालमा बैठक चलिरहेको थियो।

यद्यपि डा भार्गव बैठकमा सहभागी थिइनन् र उनी उक्त दिनभरि गर्नुपर्ने स्वास्थ्य परीक्षणहरूको समीक्षा गरेर आफ्नो कार्यालयमा बसिरहेकी थिइन्।

त्यसैबेला आफूलाई एक जना सहकर्मीले एकदमै आत्तिएर बोलाएको सुनेको उनले पुस्तकमा स्मरण गरेकी छन्। सहकर्मीले उनलाई ‘क्याजुअल्टी वार्ड’ मा जान आग्रह गरेका थिए।

त्यहाँ एउटा ह्विचेअर स्ट्रेचरमा सुताइएको व्यक्ति तिनै महिला थिइन् जसले डा भार्गवलाई अस्पतालको प्रमुखका रूपमा छनोट गरेकी थिइन्। उनी थिइन्, भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी।

उनको केशरजस्तो रङको सारी रगतले भिजेको थियो र उनको पल्स थिएन।

डा भर्गवले बीबीसीसँग भनिन् ः ‘त्यसबेला मैले मेरो अगाडि सुतिरहेकी प्रधानमन्त्री हुन् भन्नेमा ध्यान केन्द्रित गरिनँ। हामीले उनलाई मद्दत गर्नुपर्छ र थप हानि हुनबाट जोगाउनुपर्छ भन्ने मेरो सोच सबैभन्दा पहिले आयो।’

उनी उक्त वार्डमा भिडले आक्रमण गर्न सक्ने सोचेर चिन्तित भएकी थिइन्। अस्पताल बाहिर ठूलो भिड जम्मा भएकाले पनि उनलाई त्यस्तो लागेको थियो।

त्यसै वर्षको जुन महिनामा सिख पृथकतावादीहरू विरुद्ध पञ्जाबको अमृतसरस्थित स्वर्ण मन्दिरमा गरिएको ‘अपरेशन ब्लू स्टार’ को बदला लिन गान्धीलाई दुईजना उनकै सिख अङ्गरक्षकहरूले गोली हानेको समाचारहरू आउन थालेका थिए।

गान्धीको हत्याका कारण भारतमा भएका सबैभन्दा खराब र घातक दङ्गामध्येको अवस्था निम्तियो।

त्यस्तो दङ्गा फैलिएको खबरमाझ डा भार्गवले चाहिँ हतार हतार प्रधानमन्त्रीलाई अस्पताल भवनको माथिल्लो तलामा सार्ने बन्दोबस्त गरिन्।

शल्यक्रिया कक्षमा भएका एकजना सिख डाक्टर गान्धीको मृत्युको खबर सुनेपछि कोठाबाट भागेका थिए।

मृत्यु लुकाउनु पर्ने अवस्था

उनको छोरा राजीव गान्धीले प्रधानमन्त्रीको रूपमा शपथग्रहण नगरेसम्म इन्दिराको मृत्युको खबर लुकाएर राख्नुपर्‍यो।

‘त्यस बेलासम्म, अर्को चार घण्टासम्म हामीले उनको जीवन बचाउन खोजिरहेका थियौँ भन्ने अभिनयलाई निरन्तरता दिनु थियो किनभने वास्तवमा उनलाई एम्समा ल्याउँदा उनको ज्यान गइसकेको थियो,’ डा भार्गवले लेखेकी छन्।

उनले प्रधानमन्त्रीको शवलाई सुरक्षित राख्नका लागि उनको शरीरमा रसायन लगाउने कष्टकर प्रक्रियाको पनि वर्णन गरेकी छन्।

गान्धीको शवलाई दाहसंस्कार गर्नुभन्दा अघि दुई दिनसम्म राजधानी दिल्लीमा राखिने तय भएको थियो र त्यसका लागि चिकित्सकहरूले शवलाई सुरक्षित राख्न उक्त प्रक्रियाबाट गुज्रनु पर्थ्यो।

‘हामीले शवलाई सुरक्षित राख्ने शरीरमा रसायन पुगोस् भनेर मुख्य धमनीहरूमा सुई लगायौँ त्यस बेला त्यो रसायन उनको शरीरबाट बाहिर निस्किरहेको थियो,’ डा भार्गवले लेखेकी छन्।

पछि गान्धीको बलिस्टिक प्रतिवेदन आएपछि त्यसले उनलाई तीन दर्जनभन्दा बढी गोली लागेको खुलासा गरेको थियो।

तर डा भार्गवका जीवनमा एम्समा उनको लामो पदावधी र ख्यातिप्राप्त करियरमा यो एक मात्र उल्लेखनीय घटना थिएन।

राजीव, सोनिया र राहुल गान्धीको प्रसङ्ग

पुस्तकमा उनले भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुलगायत अन्य प्रमुख राजनीतिज्ञहरूसँग भएका अन्तरक्रियाका रोचक प्रसङ्गहरू पनि साझा गरेकी छन्।

उनले सोनिया गान्धीले आफ्नो छोरा राहुल सानै हुँदा उनी खेल्दै गर्दा राहुलको टाउकोमा सानो बाण लागेपछि सोनिया राहुललाई लिएर एम्स आएको पनि स्मरण गरेकी छन्।

‘सोनिया गान्धीले मलाई उनले राहुललाई हामीकहाँ ल्याउनुको कारणबारे भनेकी थिइन्। राजीव (सोनियाका पति०)ले जोर्डनका राजालाई भेटिरहेका थिए र उनले राजीवलाई उपहारको रूपमा एउटा ुआकर्षकु कार दिएका थिए। त्यो कार उनका पति चलाउन इच्छुक थिए,’ उनले पुस्तकमा लेखेकी छन्।

राजीव गान्धी राहुललाई आफ्ना सुरक्षाकर्मीको घेराविनै आफैँ कार चलाएर एम्समा लैजान चाहन्थे। भार्गवका अनुसार त्यो एउटा आश्चर्यजनक कुरा थियो र उनले सुरक्षा चिन्ताको कारण देखाउँदै त्यसलाई दृढतापूर्वक रोकिन्।

तर उनको जीवनका हरेक दीन त्यति रोमाञ्चक थिएनन्।

राजनीतिक दबाब

डा भार्गवले आफ्नो पुस्तकमा राजनीतिक दबाबलाई पनि स्मरण गरेकी छन्।

त्यसमा एक जना सांसदले उनका ज्वाइँलाई एम्समा जागिर नदिएको भन्दै धम्की दिएको प्रसङ्ग पनि छ।

त्यस्तै अर्को प्रसङ्गमा सङ्घीय स्वास्थ्य सचिवसहित दुई शीर्ष राजनीतिज्ञहरूले एम्समा सीधै आफूहरूले चाहेका व्यक्तिलाई डीन बनाउने प्रयास गरेको पनि उल्लेख छ। तर उनले त्यसलाई हुन दिइनन्।

डा भार्गव आफूले सधैँ राजनीतिक दबाबको डटेर सामना गरेकी दाबी पुस्तकमा गर्छिन् र आफूले सधैँ बिरामीको हेरचाहलाई प्राथमिकता दिएको उल्लेख गर्छिन्।

उनले एम्समा निदान र उपचारको मुख्य भागको रूपमा रेडियोलोजीलाई स्थापित गर्ने काम गरिन्।

सन् १९६० को दशकमा डा भार्गव संलग्न हुँदा एम्ससँग आधारभूत इमेजिङ उपकरणहरू मात्र थिए।

उनले सहकर्मीहरूलाई बिरामीको विगतको अवस्थाका आधारमा सामान्य एक्स(रेमा सूक्ष्म सङ्केतहरू पढ्न तालिम दिइन्।

पछि उनले अत्याधुनिक र सुविधायुक्त उपकरणका लागि पहल गरेर एम्समा भारतको अग्रणी रेडियोलोजी विभागमध्ये एक स्थापना गर्न सफल भइन्।

उनी सधैँ सुधारतर्फ आकर्षित थिइन्। डा भार्गव भारत विभाजनपूर्व सन् १९३० मा ब्रिटिश भारतको लाहोरस्थित एक सम्पन्न परिवारमा जन्मिएकी थिइन्। अहिले लाहोर पाकिस्तानमा पर्छ।

उनी बाल्यकालमा आफ्ना खेलौना र भाइबहिनीहरूसँग खेल्दा डाक्टरको भूमिका निभाउँछिन्।

भारत र पाकिस्तान विभाजनको समयमा डा भार्गवको परिवार हालको पाकिस्तान छाडेर भागेर भारत आउनुपर्‍यो।

त्यसबेला उनी आफ्ना पितासँग मानिसहरूलाई मद्दत गर्न शरणार्थी शिविरहरूमा जान्थिन्। त्यतिखेर थोरै मात्र भारतीय महिलाहरूले उच्च शिक्षा हासिल गरेका थिए।

डा भार्गवले लन्डनमा रेडियोलोजीको अध्ययन गरिन्। त्यसबेला उनको कक्षा र अस्पतालका विभाग दुवैमा उनी एकमात्र महिला थिइन्।

देशलाई कुशल रेडियोलोजिस्टको आवश्यकता छ भन्ने कुरा आफ्नो गुरुबाट सुनेपछि उनी १९५० को दशकमा भारत फर्किइन्।

डा भार्गवले आफ्नो परिवार र उनको पतिको उदार मनका कारणले आफ्ना सपना पूरा गर्न मद्दत पुगेको उल्लेख गरेकी छन्।

उनी अन्य भारतीय महिलाहरूले पनि त्यस्तै सहयोग पाउनेछन् भन्ने आशा पनि व्यक्त गर्छिन्।

‘यो बाल्यकालबाटै सुरु हुन्छ,’ उनी भन्छिन्। ‘आमाबाबुले आफ्ना छोरीहरूलाई त्यसरी नै सहयोग गर्नुपर्छ जसरी उनीहरूले आफ्ना छोराहरूलाई सहयोग गर्छन्। त्यसपछि मात्र उनीहरूले सामाजिक मान्यता तोड्न र आकाशका तारा छुन सक्षम हुनेछन्।’
शेरिलान मोलन
बीबीसी न्यूज

आइतबार, १५ असार २०८२, १४ : ५८

प्रतिक्रिया