सुन तथा रत्नमा लगाइएको करबारे पुनरावलोकन गर्न अर्थमन्त्रीलाई चेम्बरको ध्यानाकर्षण

आइतबार, १५ असार २०८२, १६ : ५५

काठमाडौं— आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा लगाइएको करमा पुनरावलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ । 

सुनमा प्रस्ताव गरिएको २ प्रतिशतविलासिता कर र हिरा लगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अव्यवहारिक र उपभोक्तामा समेत गम्भिर असर गर्ने भएकाले पुनरावलोकन गर्न चेम्बरले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो । 

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले सिंहदरवारमा अर्थमन्त्री पौडेलसमक्ष बजेटमा उल्लेखित विलासिता कर र भ्याट पुनरावलोकनको व्यवस्था वर्तमान आर्थिक अवस्थाको प्रतिकुल हुने बताएको छ । 

चेम्बरले करको यो व्यवस्थाले सुन–चाँदी तथा रत्न आभूषण क्षेत्र नै धराशायी बनाउने र लाखौं जनशक्तिको रोजगारी संकटमा पर्ने चेतावनी दिएको छ।

चेम्बर पदाधिकारीहरुसंगको भेटका क्रममा अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफूले गम्भिरताका साथ लिने प्रतिवद्धता जनाए । साथै उनले सरोकारवाला निकायसंग छलफल गरेर समस्या समाधान गर्ने बताएका छन् ।  


 

आइतबार, १५ असार २०८२, १६ : ५५

प्रतिक्रिया