चितवनमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

आइतबार, १५ असार २०८२, १२ : ४७

काठमाडौं- चितवनमा २२ औं राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाइएको छ । धान दिवसको अवसरमा आइतबार भरतपुर २४ मा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित सामूहिक रूपमा धान रोपिएको हो ।

भरतपुर महानगरपालिका, कृषि विकास कार्यालय चितवन र केरुङका ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको संयुक्त आयोजनामा यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिएको हो । 

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर २४ मा धान रोप्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘विगतमा भरतपुर २४ सुख्खा ग्रस्त थियो, उनले भनिन्, ‘सिँचाइको प्रबन्धले असार १५ का दिन धान रोप्न पाउँदा निकै खुसी छु । अहिले यो क्षेत्र भरतपुरको कृषि उत्पादनको केन्द्र बनेको छ । १२ महिना खेती हुँदा कृषकले राम्रो आम्दानी गर्नुभएको छ ।’ 

प्रमुख दाहालले कृषि अर्थतन्त्रको मुख्य मेरुदण्ड भएकाले उत्पादन वृद्धि गर्नु आजको आवश्यकता रहेको उल्लेख गरेकी छिन् । नेपालको कुल ग्राहस्थ उत्पादनको २५ प्रतिशत कृषि र त्यसमा १५ प्रतिशत धान बालीको रहेकाले अर्थतन्त्रको महत्त्वपूर्ण आधार रहेको उल्लेख गरिन् । उनले लागत घटाई उत्पादन वृद्धि गर्ने नीति अनुसार भरतपुर महानगरले आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिई अनुदानमा उपकरण वितरण गर्दै आएको बताइन् । 

भरतपुरमा पछिल्लो समय सिँचाइको व्यवस्था भएसँगै कृषि उत्पादनमा वृद्धि हुँदै गएको उनको भनाई थियो । भरतपुरमा रहेका ठुलो क्षेत्रफल कृषियोग्य जमिन एकै व्यक्तिले बाँझो राख्दा उत्पादनलाई वृद्धि हुन नसकेको तर्क गरिन् । महानगरमा सिँचाइको प्रबन्धले बिस्तारै कृषि उत्पादनमा वृद्धि हुँदै गए पनि क्रमशः अझै वृद्धि गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा उपप्रमुख चित्र सेन अधिकारीले हरेक वर्ष कृषकहरूले खेती लगाउने बेलामा रासायनिक मलको अभाव खेप्नुपरेको भन्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर हुनुपर्ने बताए । केही वर्ष अघि नेपालले कृषि उत्पादनहरू निर्यात गर्ने देशमा पर्ने गरेको भए पनि अहिले श्रम विदेश निर्यात गरेर खाद्यान्नहरू आयात गर्नुपर्ने अवस्थामा रहेको अधिकारीले बताए। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले मन्तव्य राखेका थिए । त्यस्तै, धान दिवसमा अवसरमा हिले दौड, डोरी तान्ने प्रतियोगिता भएको थियो ।

आइतबार, १५ असार २०८२, १२ : ४७

प्रतिक्रिया