पाथीभरा मन्दिरमा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन

२ हप्ता अगाडि

काठमाडौं-  ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चैतमा रु ७५ लाख सात हजार एक सय ५० भेटी सङ्कलन भएको छ । सङ्कलित भेटी गणना गरी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।पाथीभरा (मुकुमलुङ)मा चैतमा ५२ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार ५२ हजार चार सय ५५ भक्तजनले पाथीभरा पूजा थाममा पुगेर पूजापाठ गरेका छन् ।

चालु आर्थिक वर्षको नौ महिनामा सबैभन्दा धेरै चैतमा पाथीभरामा भक्तजनले पूजापाठ गरेका छन् । गत साउनदेखि चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार चार सय एक, फागुनमा १७ हजार नौ सय १२ जना तीर्थयात्री आएका हुन् ।

२ हप्ता अगाडि

प्रतिक्रिया