चीनले सातवटा नाका खोल्न पठायो पत्र

१ हप्ता अगाडि

काठमाडौँ - चीनले नेपालतर्फको थप सात वटा नाका खोल्नका लागि तयार भएको छ । 

चीनसँग जोडिएको नेपालका परम्परागत १४ वटा नाकामध्ये तत्काल थप सात वटा नाका खोल्न तयार रहेको पत्र परराष्ट्र मन्त्रालयलाई पठाएको हो । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण गएको बेला विभिन्न १४ वटा नाका खोल्ने सहमति भएको थियो । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले हालै सम्पन्न गरेको चीन भ्रमणको क्रममा पनि नाका खोल्ने बारेमा छलफल भएका थियो । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नाका खोल्नका लागि चीनले अग्रसरता लिए पनि नेपालको तर्फबाट चासो दिइएको छैन ।

चीनले पत्र पठाएको एक महिनाभन्दा बढी बितिसके पनि प्रक्रिया खासै अघि बढ्न नसकेको ती अधिकारीले बताए । तर प्रधानमन्त्री कार्यालयले भने यसबारे आन्तरिक तयारी भइरहेको र यो प्रक्रिया छिट्टै अघि बढाउने बताएको छ । १४ वटा नाकामध्ये यसअघि नै तातोपानी, केरुङ, कोरला र हिल्सा नाका सञ्चालनमा आइसकेका छन् । बाँकी नाकामध्ये पहिलो चरणमा सात वटा नाका खोल्नका लागि चीन तयार भएको हो । झोङ्बा र डोल्पाको मेयोङ नाका,  झोङ्बा र मुगुको यासिमा नाका, जिरोङ र गोरखाको झोङ्गा नाका र गोङ्डाङ नाका, न्यालामु र दोलखाको झासिगांग नाका, डिङ्जे र ताप्लेजुङको रिवु नाका तथा पुलान नाका र बझाङको बोलिना नाका खोल्नका लागि चीनले पत्र पठाएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया