कतारका  राजालाई सरकारले उच्च प्रोटोकलको सुरक्षा दिने

२ हप्ता अगाडि

काठमाडौं- कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा मंगलबार नेपाल आउँदै छन् । पहिलोपटक कतारका राजा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी राजाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । पश्चिम एशियाको महत्त्वपूर्ण शक्तिराष्ट्रको प्रमुखको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय नै गरेको छ ।

थानीलाई सरकारले उच्च प्रोटोकलको सुरक्षा व्यवस्था गरेको छ । राष्ट्र प्रमुखहरूलाई दिँदै आइएको उच्च प्रोटोकलको सुरक्षा दिन लागिएको हो । दुई दिन उनी सोल्टी होटेलमै रहने कार्यक्रम छ । स्रोतका अनुसार राजा थानीलाई नेपाली सेनाले पहिलो घेरोको सुरक्षा दिने छ । सेनालाई सशस्त्र र नेपाल प्रहरीले सघाउने छन् ।

अमिर अल थानीको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।गत मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिबी अर्यालसँगको भेटवार्ताका क्रममा राजदूत अन्सारीले नेपाल सरकारले अघि सार्ने प्रस्तावमा सहयोग गर्न कतार तयार रहेको बताएका थिए । केही दिनयता एशियाली देशको औपचारिक भ्रमणमा निस्केका कतारी अमिर फिलिपिन्स र बांग्लादेशको भ्रमण सकेर त्यतैबाट नेपाल आउन लागेका हुन् । उनले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गरिरहेका छन् ।

२ हप्ता अगाडि

प्रतिक्रिया