चौधरी ग्रुपको नाममा मसानघाटको सार्वजनिक जग्गा

२ हप्ता अगाडि

काठमाडौँ - पर्सा र बाराको सिमानामा पर्ने चोर्नी स्थित छठ तथा मसानघाटको जग्गा चौधरी ग्रुपको सीजी लजिस्टिक पार्क कम्पनी वीरगञ्ज मुर्लीको नाममा दर्ता भएको पाइएको छ । चौधरी ग्रुपले मालपोत कार्यालय पर्साका कर्मचारीको मिलेमतोमा वीरगञ्ज महानगरपालिका वडा नंं. ३२ को साविक चोर्नी गाउँ विकास समिति वडा नंं १ को कित्ता नं १, ५, ७, २३, २४, २५ ४८, ५० र ७१ को करिव २ बिगाहा सरकारी सार्वजनिक जग्गा आफ्नो नाममा पास गरेको पाइएको हो ।

वीरगञ्ज वडा नं. ३२ बस्ने रामआशिष पासवान र बारा, पर्सा शिव हनुमान मन्दिर तथा मसानघाट जग्गा संरक्षण संघर्ष समितिका संयोजक ताराकुमारी राम (चमार) ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कार्यालय पर्साका कर्मचारीलाई कारबाहीको माग राख्दै गत चैत २८ गते निवेदन दर्ता गराएपछि चौधरीको ग्रुपको धन्दा सार्वजनिक भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गत चैत २८ गते निवेदन दर्ता गराएका रामआशिष पासवानले आफू वीरगञ्ज ३२ चोर्नीस्थित सरकारी सार्वजनिक जग्गा कि नं ४८ र ५० को सँधियार रहेको उल्लेख गरेका छन् ।

उनले नेपालको संविधानको धारा ४८ को नागरिक कर्तव्य (छ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने अवस्थाबमोजिम सरकारी सार्वजनिक सम्पत्ति कब्जा गर्ने व्यक्ति र कम्पनीलाई कारबाहीको माग गर्दै निवेदन दर्ता गराएका हुन् । मृत्यु भएका मानिसको लास दाहसंस्कार गर्ने मासनघाट र छठ पर्वको अवसरमा पूजा गर्ने छठघाटको रूपमा प्रयोग गर्दै आएको सरकारी सार्वजनिक जग्गामा चौधरी ग्रुपको सीजी लजिस्टिक पार्क कम्पनीले कम्पाउन्डवाल लगाउन खोजेपछि स्थानीयले अवरोध गरेका थिए । सीजी कम्पनीका प्रतिनिधिले उक्त जग्गा आफूले वैधानिकरूपमा खरिद गरेको दाबी गरेपछि मालपोत कार्यालय पर्सामा बुझ्दा कम्पनीले दाबी गरेका कित्ता नम्बरहरू पर्सा जग्गा मोठ ठेली नं.४३ पाना नम्वर ६६२१ मा जग्गाधनी सकल फिल्डबुकमा जग्गाधनी मोही महल खालिरहेको पाइएको छ ।

निवेदन अनुसार २०७९ भदौ ३१ गते सीजी लजिस्टिक पार्क कम्पनीको नाममा उक्त जग्गा रजिस्ट्रेसन पास गराएका थिए । उक्त जग्गाको मूल्य ६० करोड पर्ने उल्लेख छ । निवेदनमा सार्वजनिक जग्गा मुलुकी अपराधसंहिता २०७४ को २७२ बमोजिम जालसाजी गरेको हुँदा मालपोत कार्यालय पर्साका कर्मचारी नासु राजेश्वरप्रसाद साहतेलीलगायत चोर्नीका पूर्वगाविस अध्यक्ष रामबालक महतो, उमा महतो धानुक र विनोद चौधरीको नाममा रहेको सीजी लजिस्टिक पार्क कम्पनी वीरगञ्जलाई हदैसम्मको कारबाहीको माग गरिएको छ । 

प्रधानमन्त्री दाहालले उक्त सरकारी सार्वजनिक जग्गाको सन्दर्भमा के भएको हो तत्काल छानवीनगरी दोषिलाई कानूनको कठघारामा ल्याउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मन्त्री अधिकारीलाई निर्देशन दिएका छन । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पनि भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्र लेखि उजुरीका सन्दर्भमा छानवीनगरी सरकारी सार्वजनिक जग्गा व्यक्ति वा निजी कम्पनीको नाउँमा दर्ता हुन गएको भए प्रचलित कानून बमोजिम दर्ता वदर गरी सरकारी सार्वजनिक जग्गा संरक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
 


 

२ हप्ता अगाडि

प्रतिक्रिया