नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर

१ हप्ता अगाडि

काठमाडौँ - अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहमा अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे । उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेन्डामा काम गर्दै आएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

 कोइराला मेमोरियल क्यान्स अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ । कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबिच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एक अर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमानदारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।उनले राष्ट्रपति सी जिन फिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा आफ्ना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्‍याएको बताए । उनले ती दुवै उच्चस्तरीय भ्रमणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी भएकाहरूको कार्यान्वयनमा जोड दिए । 

चीनले पछिल्लो समय हासिल गरेको विकास लोभलाग्दो र प्रशंसनीय रहेको र नेपालमा पनि विकासको सोही गति समाउन चाहेको उनको भनाइ थियो । विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी आउन थालेको भन्दै उनले आगामी दिनमा सहायता र लगानी बढाउन आग्रह गरे । चीनले नेपालप्रति राखेको विश्वको सधैँ कदर गर्ने मन्त्री पुनले बताए ।चिनियाँ प्रतिनिधिमण्डल नेतृत्व गरेका लियु झाओ हुईले नेपाल चीनको असल मित्र रहेको भन्दै नेपालको विकासमा सधैँ साथ रहेको बताए । राष्ट्रपति सी को नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एक एक गर्दै पालना गर्दै जाने प्रतिबद्धता उनले जनाए । उनले आफूहरू तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सिलसिलामा नेपाल आएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा चिनियाँ लगानी आउने बताए ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया