नागरिकलाई कर तिर्न बाध्यता, सांसदलाई स्वेच्छिक ?

१ हप्ता अगाडि

काठमाडौं – सांसदहरूले कति सुविधा पाउँछन् र कति कर तिर्छन भन्ने आम जिज्ञासाको विषय बन्दै आएको छ । संसद चल्दा र नचल्दा राज्य कोषबाट कति खर्च हुन्छ ? सांसदहरुले कुन कुन शीर्षकमा भत्ता पाउँछन्  ? आदि प्रश्नहरुको उत्तर थाहा पाउने अधिकार नागरिकहरुलाई हुन्छ नै । तर आम जनता यसबारे जानकार छैनन् । 
संसद नचले पनि सांसदहरुले पाउने सेवा–सुविधा पाइनै रहन्छन् । संघीय संसद् सचिवालयका अनुसार उनीहरूले मासिक ६६ हजार ७० रूपैयाँ चोखो तलब पाउँछन् । त्यसबाहेक विशेष भत्ता,  सञ्चार,  विद्युत्,  खानेपानी खर्चबापत अतिरिक्त ६ हजार रकम लिन्छन् । राजधानीमै घर भएकाले मासिक ९ हजार र नभएका सांसदले १८ हजार रूपैयाँ सुविधा लिँदै आएका छन् ।
उक्त हिसाबले काठमाडौंमा घर नभएका सांसदले मासिक ९० हजार र घर भएका सांसदले ८१, ०७० रूपैयाँ तलब बुझ्छन् । यस अलावा यातायात भत्ता शीर्षकमा बैठक बसेपिच्छे १ हजार भत्ता पाउँदै आएका छन् । प्रतिनिधिसभा बैठक नबस्दा पनि मासिक १५ करोड खर्च हुँदै आएको छ । मासिक १५ करोड खर्च हुँदै आए पनि माननीयहरूले त्यसको कर तिर्छन् कि तिर्दैनन् त ?  

संघीय संसद सचिवालयको तलबी रिपोर्टअनुसार औसतमा एक जना सांसदको वार्षिक आम्दानी ११ लाखभन्दा माथि हुन आउँछ । संसदबाट मात्र आर्जित रकमबाट ३० प्रतिशत रकम करका रूपमा राज्यलाई तिर्नुपर्ने हो । तर,  तलबबाटै कर काटिँदैन । पटके भत्तामा भने १५ प्रतिशत काटिन्छ ।

बाँकी वार्षिक आयअनुसार कर तिर्ने हो । ६ लाखभन्दा बढी वार्षिक आय हुनेले ३० प्रतिशत कर तिर्नुपर्ने, ६ लाखभन्दा कम हुनेले आम्दानीको २० प्रतिशत, पाँच लाखसम्म आम्दानी हुनेले आम्दानीको १० प्रतिशत कर तिर्नुपर्ने प्रावधान छ । माननीयहरूले कति तिर्छन् रु त्यसको विवरण संघीय संसद सचिवालयसँग छैन । जहाँबाट तलब जाने हो उक्त निकायले कर कटौती गर्दैन । स्वघोषित व्यवस्था गरिए पनि कर तिरे भयो, नतिरे पनि भयो ।

१ हप्ता अगाडि

प्रतिक्रिया