गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै  आउन सकेन नियन्त्रणमा

२ हप्ता अगाडि

काठमाडौँ- नवलपरासि जिल्लाको नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

 डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले जिल्लामा दैनिक सरदर १५ देखि २० ठाउँमा वन डढेलो लाग्ने गरेका जानकारी दिए । बढ्दो गर्मी, तातो हावासँगै चालु आर्थिक वर्षमा एक सयभन्दा बढी सामुदायिक वनमा डढेलो लागेको उनले बताए । ‘नवलपुरमा ८० प्रतिशतभन्दा बढी सामुदायिक, मध्यवर्ती, कबुलियती लगायतका समुदायमा आधारित वन छन्, तीमध्ये एक सयभन्दा बढी सामुदायिक वनका दुई हजार पाँच सय ५३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । अहिलेसम्म मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा रहेका वन सबैभन्दा बढी प्रभावित भएका छन्’, लम्सालले भने । सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका सचिव सुशील पौडेलले वन डढेलोका कारण जङ्गलको बीचमा र जङ्गल नजिक रहेका गाउँहरू जोखिम रहेका बताए । मानवीय सचेतनाको अभावका कारण वन डढेलोका घट्ना बढ्दै गएकाले सचेतना अभिवृद्धिमा जोडदिनुपर्ने उनको भनाइ छ ।

‘डढेलो लगाएपछि वनमा च्याउ उम्रिन्छ, किर्ना मर्छ, नयाँ पालुवा पलाउँछ भनेर बढीमात्रामा जङ्गलमा डढेलो लगाउने गरेको पाइएको छ । यस्तो सोचाइमा परिवर्तन ल्याउनका लागि राज्य लगायत सबै सरोकारवाला जिम्मेवार बन्न आवश्यक छ’, पौडेलले अगाडि भने । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले पनि मानवीय लापरवाहीका कारण वन डढेलोका घटना बढिरहेकाले त्यस्ता प्रवृति निरुत्साहित गर्न जरूरी रहेका बताए । पहाडी क्षेत्रमा बाटोको सहज पहुँच नभएकाले स्याउला र माटोकै भरमा वन डढेलो निभाउनुपर्ने बाध्यता रहेकाले पनि नियन्त्रणमा चुनौती रहेका वन अधिकृत लम्सालको भनाइ छ । नागरिकतहसम्म सचेतनाका कार्यक्रम लिएर जाने, अग्निरेखा बनाउने, गर्मी मौसम सुरू हुनुअघि नै जङ्गलका पातपतिङ्गर झिक्नसके डढेलाका घटनामा कमी ल्याउन सकिने स्थानीयको भनाइ छ ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया