नेपालसामु बृहत् लगानी तथा उत्पादनको अवसर छ : मन्त्री भण्डारी

२ हप्ता अगाडि

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ठुला अर्थतन्त्र चीन र भारतको बीचमा रहेर बृहत् लगानी तथा उत्पादन गर्ने अवसर नेपालसामु रहेको बताएका छन् । मन्त्री भण्डारीले भने, ‘हामी विश्वका २ वटा ठुला अर्थतन्त्र भएका देशको बीचमा छौँ । आन्तरिक बजारको साथै ती मुलुकको बजार र विश्व बजार केन्द्रित रहेर बृहत् लगानी तथा उत्पादन गर्ने अवसर हाम्रोसामु छ ।’

जनशक्ति, स्रोत साधन र प्रविधिको अधिकतम परिचालन गर्दै बजारको उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री भण्डारीले यसका लागि अर्थतन्त्रको संरचनात्मक परिवर्तन गर्दै प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न औद्योगिक क्षेत्रमा नवीतम प्रविधिको अवलम्बन, पूर्वाधार निर्माण र दक्ष जनशक्तिको विकास तथा परिचालनमा विशेष जोड दिनुपर्ने बताए । प्रविधिको विकासले उत्पादनको तरिका, उत्पादनको स्थान र आपूर्ति प्रणालीमा आमूल परिवर्तन हुँदै आएको मन्त्री भण्डारीको भनाइ छ ।

‘उपभोक्ताको चाहना र सन्तुष्टिको स्तरमा पनि सोही अनुसार परिवर्तन हुँदै गएको छ । त्यसकारण पनि हामीले अनुसन्धान र विकासमा लगानी वृद्धि गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘हामीले उद्यमशीलता, उत्पादन र आर्थिक वृद्धिमा केन्द्रित रहेर उद्यमशील, दक्ष र सीपयुक्त जनशक्ति विकास तथा परिचालन गर्नुपर्ने हुन्छ ।’ औद्योगिक क्षेत्रको विकास तथा विस्तार गर्न नेपाल सरकारले विभिन्न नीतिगत कानुनी र प्रक्रियागत सुधार गरेर सहजता बढाएको मन्त्री भण्डारीको भनाइ छ । विदेशी लगानी सम्बन्धी कानुनमा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन र पुँजी लगानी कोष स्थापना गर्न सक्ने प्रावधानले नवप्रवर्तनमा योगदान पुर्याउने मन्त्री भण्डारीको विश्वास छ । 

‘संघमा बिजनेस इन्कुबेसन केन्द्र स्थापना भएको र प्रदेशस्तरमा समेत क्रमशः सो केन्द्र स्थापना गर्ने कार्य प्रारम्भ भएको छ । त्यसैगरी, उत्पादनमूलक क्षेत्रमा नवीनतालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न स्टार्टअप उद्यम नीति तथा कर्जा सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याइएको छ’, उनले भने, ‘नियमनकारी निकायलाई प्रविधियुक्त बनाउँदै दर्ता, नवीकरण, अनुमति र सहुलियत दिने जस्ता सेवाहरूलाई अटोमेशन गर्दै लगिएको छ । नेपाल सरकारले निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल’ तथा ‘मेक इन नेपाल’ जस्ता कार्यक्रममा सहयोग पुर्याउँदै आएको छ ।’

२ हप्ता अगाडि

प्रतिक्रिया