सार्वजनिक ऋण व्यवस्थापनका कार्यालयले ५ अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै

२ हप्ता अगाडि

काठमाडौँ - सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै छ । कार्यालयले वैशाख २० गते निष्कासन गर्नेगरी ८ वर्षे अवधिको विकास ऋणपत्र २०८९ ‘ग’ बोलकबोल गर्न लागेको हो । 

इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्था तथा नेपाली नागरिकले विकास ऋणपत्रमा लगानी गर्न सक्नेछन् । मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म जारी रहने बोलकबोलका लागि तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुबै प्रणालीमा भाग लिन सक्ने सुविधा रहेकोमा प्रतिस्पर्धी कोटाका लागि कूल निष्कासन रकमको ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ भने अप्रतिस्पर्धी कोटका लागि १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ मात्र छुट्याइएको छ । 

अप्रतिस्पर्धीका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदाताहरुलाई नै बिक्री गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यद्यपि, अप्रतिस्पर्धी बोलदाताहरुलाई छ्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा भने समानुपातिक रूपमा ऋणपत्रको रकम बाँडफाँड गरिने कार्यालयले जनाएको छ ।बोलदाताले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलदाताहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया