एडीबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहायता उपलब्ध गराउने

१ हप्ता अगाडि

काठमाडौँ - एसियाली विकास बैंक (एडीबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइड लाइन वार्तामा एडीबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुध्नका लागि सहयोग बढाउन प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताए । ‘जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याहरूका बारेमा म जानकार छु’, मासात्सुगुको भनाइ उद्धृत गर्दै भेटमा सहभागी अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने, ‘थप सहयोगका लागि एडीबी तत्पर छ ।’ भेटका क्रममा सचिव मरासिनीले एडिबीले नेपालको विकासमा पुर्‍याएको योगदानको सराहना गर्दै विकास वित्तको कमी पुरा गर्न थप सहयोगका लागि आग्रह गरे ।

यस्तै मरानिसीले अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुको कार्यकालमा एडीबीले नेपालमा सहयोग बढाउने अपेक्षा गरिएको समेत उनले बताए । सचिव मरासिनीले अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा दिए । जवाफमा उनले एडीबीले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताए ।  यस्तै सचिव मरासिनीले एडिबी उपाध्यक्ष इङ्गमिङ्ग याङ्गसँग पनि भेटेका छन् । त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलासययुक्त दूधकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रमहरू समयमै सम्पन्न गर्नेबारे सहमति भएको सहसचिव नेपालले जानकारी दिए ।

नेपालका अनुसार सहुलियतपूर्ण श्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुवै पक्षले सहकार्य गर्ने समझदारी भएको बताए । उपाध्यक्ष याङ्गले जारी कन्ट्री साझेदारी प्रेमवर्क तयारी विश्व बैंकसँगको सहकार्यमा भइरहेकामा अन्य मुलुकका लागि समेत यो नमुना हुनसक्ने बताइन् । भेटमा नेपालका तर्फबाट सचिव मरासिनी र सहसचिव नेपाल तथा एडिबीका तर्फबाट उपाध्यक्ष याङ्गसहित कार्यकारी निर्देशक सुपक चइयावान, दक्षिण एसिया हेर्ने महानिर्देशक ताकेयो कोनिसीसहितका पदाधिकारी सहभागी थिए ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया