नेपाल र जापानका परराष्ट्रमन्त्री बिच भेटवार्ता

१ हप्ता अगाडि

काठमाडौँ - उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोग थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।

भेटवार्तापछि सञ्चारकर्मी उनले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने र आर्थिक सम्बन्धलाई फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताए। “दुवै प्रतिनिधि मण्डलबीच विभिन्न अन्तरराष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो”, उपप्रधानमन्त्री श्रेष्ठले भने । जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सदभाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे। विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौँ आइपुगेकी हुन्।

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा उनले यसअघि काठमाडौँ दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। विदेशमन्त्री खामिखावा भ्रमण सकेर आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापान फर्कनेछिन्।


 

१ हप्ता अगाडि

प्रतिक्रिया