२५ कम्पनीले तिरेनन् कर, १५ दिनभित्र नतिरे कारबाही गर्ने चेतावनी

१ हप्ता अगाडि

काठमाडौँ- ठूला करदाता मानिने २५ कम्पनीले आयकर र मूल्य अभिवृद्धि कर तिरेका छैनन् । ठूला करदाता सेवा कार्यालय अन्तर्गतका ती कम्पनीले सममयमा कर दाखिला नगरेपछि कार्यालयले १५ दिने क्याद दिँदै कर तिर्न आउन भन्दै नभए कारबाही गर्ने चेतावनी दिएको छ । 

यसरी कर नतिर्ने कम्पनीहरुमा ठूला व्यवसायिक घरानाका कम्पनीदेखि सरकारी स्वामित्वका कम्पनीहरु समेत रहेका छन् । पूर्ण सरकारी स्वामित्व रहेको उदयपूर सिमेन्ट, कृषि सामग्री कम्पनी लिमिटेड र जनक शिक्षा सामग्री केन्द्र कर नतिरेको कार्यालयले जनाएको छ ।  त्यस्तै, ठूला घराना अन्तर्गत सञ्चालित कम्पनी समेत समयमा कर बुझाउन असफल भएका छन् । नर्भिक हस्पिटल, हिमाल आइरन एण्ड स्टिल, बतास ब्रदर्श, सीई कन्स्ट्रक्सन, ग्रीन हिल सिटी, सुबिसु केबलनेट जस्ता कम्पनीसमेत कर नबुझाउने सूचीमा परेका छन् । 

मदिरा उत्पादक कम्पनीतर्फ माउन्ट एभरेष्ट ब्रु्अरी र टाइगर्स ब्रुअरीले पनि कर तिरेका छैनन् । सिमेन्ट कम्पनीतर्फ समयमा कर दाखिला नगर्नेमा उदयपुर सिमेन्ट कम्पनीका अतिरिक्त शुभश्री अग्नि सिमेन्ट, अरनिको आँबुखैरेनी सिमेन्ट, कसमस सिमेन्ट, विशाल सिमेन्ट छन् । निर्माण कम्पनीतर्फ जयन्ती निर्माण सेवा, सुनाम इन्फास्ट्रक्चरले कर बुझाएका छैनन् । त्यस्तै पेन इडिया इन्फाप्रोजेक्स, गण्डकी विकास बैंक, सुमेरु बचत तथा ऋण सहकारी, इस्टर्न एजेन्सिज, महालक्ष्मी वायर एण्ड केवल, अयोकी सिम्बोल इरेक्टर्स, शिवशिखर एग्रो र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजसमेत छन् । यी कम्पनीमध्ये उदयपूर सिमेन्ट, माउण्ट एभरेष्ट ब्रुअरी, पेन इडिया इन्फाप्रोजेक्स, शुभश्री अग्नि सिमेन्ट र जयन्ती निर्माण सेवाले आयकर र मूल्य अभिवृद्धि कर दुवै तिरेका छैनन् । 

कृषि सामग्री कम्पनी, हिमाल आइरन एण्ड स्टिल्स, गण्डकी विकास बैंक, सुमेरु, नर्भिक र अरनिको आँबुखैरेनी सिमेन्टले आयकर तिरेका छैनन् भने बाँकी कम्पनीले मूल्य अभिवृद्धि कर समयमा नबुझाएको ठूला करदाता कार्यालयले जनाएको छ ।  यी कम्पनीहरुलाई विभिन्न समयमा अनुरोध, फोन, पत्राचार तथा संकलन भ्रमणलगायत माध्यमबाट जानकारी गराउन प्रयास गरेको भन्दै कार्यालयले सम्पर्क गर्न नसकिएको जनाएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया