सामूहिक छुट्टी लिने २५ जना कर्मचारी बर्खास्त

१ हप्ता अगाडि

काठमाडौँ - भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डिया एक्सप्रेस एयरलाइन्सले सामूहिक बिदामा गएका कर्मचारीहरूलाई कडा कारबाही गर्दै सबैलाई कामबाट निकालिदिएको छ । निष्कासित कर्मचारीले ड्युटीमा नगएको र व्यवहार पनि ठिक नभएको कम्पनी सम्बद्ध स्रोतले बताएको छ ।

दुई दर्जनभन्दा धेरै कर्मचारीहरूले सामूहिक बिदा लिएपछि एयर इन्डिया एक्सप्रेसका धेरै उडान रद्द गर्नुपरेको थियो । यसका कारण हवाई यात्रुहरूले निकै सास्ती खेप्नु परेको थियो । टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डिया एक्सप्रेसका केबिन क्रूले कम्पनीमा कूव्यवस्थापनको विरोधमा बुधबार सामूहिक बिदा लिएका थिए । दुई सयभन्दा बढी कर्मचारीले एक साथ बिदा लिँदा कम्पनीको उडान सञ्चालनमा गम्भीर असर परेको थियो भने कम्पनीले सयभन्दा बढी उडान रद्द गर्नुपरेको थियो । जसका कारण हवाई यात्रुहरूले निकै सास्ती खेप्नु परेको छ ।

मंगलबार एयर इन्डिया एक्सप्रेसको सञ्चालन लगभग ठप्प हुँदा करिब १५ हजार यात्रु प्रभावित भएका थिए । एयर इन्डिया एक्सप्रेसले खाडी देशहरूमा सबैभन्दा धेरै उडानहरू गर्दछ । केबिन क्रुको अभावका कारण भारतबाट खाडी मुलुक जाने धेरै उडान रद्द भएका थिए । एयर इन्डिया एक्सप्रेसले घरेलु र अन्तर्राष्ट्रिय रूटमा करिब ३६० ओटा उडान सञ्चालन गर्छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया