काठमाडाैँ- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षामा पाँच हजार ७५३ परीक्षार्थी उत्तीर्ण भएका छन्।
सन् २०२४ मा ईपीएसमार्फत उत्पादनतर्फको काम गर्न कोरिया जानको लागि गएको चैत २७ गते भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ मध्ये सिप परीक्षामा पाँच हजार ७५३ परीक्षार्थी उत्तीर्ण भएका हुन् । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ७७ जना सिप परीक्षामा अनुपस्थिति रहेका वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले जनाएको छ।
उत्पादनतर्फको रोजगारीमा जानेहरुको लागि गएको फागुनको पहिलो सातादेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा लिइइएको थियो। जुन परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए।
भाषा र सिप परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई यही वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने गरी नाम नम्बर सार्वजनिक गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ।
स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगनखेल, शुक्रराज ट्रपिकल अस्पताल टेकुु, नेपाल कोरियामैत्री अस्पताल भक्तपुर र निजामती अस्पताल मीनभवन तोकिएको छ।
प्रतिक्रिया