काठमाडौँ - खोटाङको दिक्तेलमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर शनिबारबाट सुरु भएको छ । मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिने शिविर सोमबारसम्म चल्ने छ ।
सगरमाथा चौधरी आँखा अस्पताल, लाहानको प्राविधिक सहयोग एवम् नेपाल नेत्र ज्योति सङ्घ खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा जाँच गराउन विभिन्न ठाउँबाट वृद्धवृद्धासँगै आँखाको समस्या भएका नागरिकहरूको बाक्लो उपस्थिति छ । आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन भइरहेको शिविरमा आँखा जाँच, औषधी वितरण, मोतीबिन्दुको अप्रेसन, चस्मा वितरणसँगै ज्येष्ठ नागरिकलाई दृष्टि चस्मा वितरण गरिने छ ।
न्यून दृष्टि भएका बालबच्चा र फरक क्षमता भएका सेवाग्राहीलाई आवश्यकता अनुसार आँखा जाँच, अप्रेसन, औषधी तथा चस्मा वितरण गर्ने तयारी गरिएको छ । शिविरमा उपचार सम्भव नभएका व्यक्तिहरूलाई सगरमाथा चौधरी आँखा अस्पताल, लाहानका लगेर उपचार गराइने छ । निःशुल्क आँखा शल्यक्रिया शिविरका लागि जिल्ला अस्पताल, नगरपालिका, रेडक्रस, लगायतको साथ रहेको छ ।
प्रतिक्रिया