काठमाडौं – सुन तस्करीअन्तर्गत प्रहरीको ‘वान्टेड’ सूचीमा रहेकी अमला रोकालाई सरकारले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । उनी अर्को जिबी र भरत बन्ने देखिएको छ । आफूलाई पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको बहिनीका रूपमा चिनाउने रोल्पाको थवाङ गाउँपालिका–२ की अमलाविरुद्ध सन् २०२४ जनवरी १९ मै ‘डिफ्युजन नोटिस’ जारी भएको हो । इन्टरपोलका डिएसपी छिरिङकिप्पा लामाले उनलाई ‘ब्ल्याकलिस्ट’ मा राख्न त्यतिबेलै सिआइबीलाई पत्राचारसमेत गरेका थिए ।
सुन तस्करीको प्रमुख नाइके दावा छिरिङकी श्रीमती समेत रहेकी उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले सन् २०२३ सेप्टेम्बर ६ मा पक्राउ पुर्जी जारी गरेको थियो । अवैध सुन चोरी पैठारी र संगठित अपराध गरेको कसूरमा पुर्जी जारी भएदेखि नै उनी फरार छिन् । यता, दावा भने जेल चलान भएका छन्् । नागरिकता नम्बर ४४१०४ र पासपोर्ट नम्बर ०७३४२४३६ भएकी उनी विदेश भागेको पनि देखिँदैन । साढे ६० किलोग्राम सुन तस्करीमा फरार चर्चित अभियुक्त उनी कता होलिन् ?
कमसेकम सात वर्ष ६ महिना कैद सजायँँ हुन सक्ने उनी ‘ब्ल्याकलिस्ट’ मा भएकोले छिमेकी मुलुकतिर छिर्ने सम्भावना पनि कम छ । महिनौँ बित्दासमेत संगीन अपराधका यस्ता अपराधी पक्राउ गर्न नसकेपछि सर्वसाधारणले गृहमन्त्री रवि लामिछाने र उनीमातहत प्रहरीको क्षमतामाथि प्रश्न उठाउन थालेका छन् । यसअघि सहकारीका बचतकर्ताको रकम अपचलन गरी भारततिर गएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ३५ जिल्लाका ४१ शाखामार्फत बचतकर्ताको १४ सय करोड अपचलन गरेबापत सिआइबीले ०८० असार ११ गते लखनउबाट समातेर ल्याई जेल चलान गरिसकेको छ ।
उता जिबी राईका नाममा ‘डिफ्युजन नोटिस’ जारी भएको छ । उनी मलेसियामा लुकेर बसेको सूचनाका आधारमा खोजतलासका लागि प्रहरीको इन्टरपोल शाखाले सम्बन्धित मुलुकलाई पत्राचार पनि गरिसकेको छ । यद्यपि, उनी फेला परेका छैनन् ।
प्रतिक्रिया