संसदीय समिति नबनेपछि कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय उठाउने

मंगलबार, ०१ जेठ २०८१, १३ : २९

काठमाडौं – संसदमा सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समिति गठनको विषयमा सहमति हुन  नसकेपछि नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय उठाउने भएको छ । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा नहुनेबारे सर्वोच्च अदालतले गरेको फैसलाबारे नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रवेश पाएको छ। 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मंगलबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गिरीबन्धु टि स्टेटको विषय प्रवेश गरेको जानकारी दिए। 

‘गिरीबन्धु टि स्टेटको विषय प्रवेश गरेको छ। यसका बारेमा पहिला भएका कामकुरा अहिले पछिल्लो समयमा सम्मानित अदालतबाट फैसला भएको अवस्था छ,’ लेखकले भने, ‘यो विषयमा हामीले सबै कोणबाट अध्ययन गरेर अर्को बैठकमा धारणा बनाएर सार्वजनिक गर्नेछौँ।’

बैठकमा महामन्त्री गगन थापाले गिरीबन्धु टी स्टेटको विषयमा ब्रिफिङ गरेका थिए। 
संसदीय समिति बनाउने कुरामा प्रधानमन्त्री प्रचण्ड तयार भए पनि एमाले अध्यक्ष ओलीको अडानको कारण समिति बन्न नसकेपछि कांग्रेस एमाले विरुद्ध खनिएको विश्लेषण हुन  थालेको छ । 

मंगलबार, ०१ जेठ २०८१, १३ : २९

प्रतिक्रिया