काठमाडौँ- लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन् ।
। चरम गरिबीमा रहेकी लहान नगरपालिका–१५ की दुखी सदाय मङ्गलबार एकाएक हर्षित भइन्– कारण थियो नगरपालिकाले उनलाई निःशुल्क प्रदान गरेको झुल । ुबिहान–बेलुका छाक टार्ने टुङ्गो छैन, कहाँबाट झुल किन्न सक्नु र हजुर १ दिनभरि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी छु । एक दिन काम नगरे भोकै बस्नुपर्ने हुन्छ”, आफ्नो दुःख बिसाउँदै एक दुखिले भनिन् ।
सोही वडाकी ललितदेवी सदायले पनि झुल प्राप्त गरेपछि हर्ष प्रकट गर्दै भनिन् “हामी गरिबका लागि पनि सरकार रहेछ । मेयरसाब लाई धेरै धन्यवाद ।” गर्मीयाम सुरु भएसँगै लामखुट्टेबाट नगरवासीलाई जोगाउन ललितदेवी, दुखी सदायजस्तै यहाँका दलित तथा विपन्न समुदायका परिवारलाई झुल वितरण अभियान नगरपालिकाले सुरु गरेको छ । मङ्गलबार वडा नं १५ ढोढ्नाबाट दुई सय ७५ दलित तथा विपन्नलाई झुल वितरण गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।
‘एक घर, एक झुल’ अभियान सञ्चालन गरी नगरपालिकाभित्रका गरिब, मजदुर तथा विपन्न परिवारलाई मलेरिया, डेङ्गुलगायत अन्य प्राणघातक रोगबाट बचाउन आफू लागिपरेको नगरप्रमुख चौधरीले बताए। “गर्मी र वर्षात्को मौसम सुरु भएपछि लामखुट्टेको प्रभाज बढेको छ । उनीहरूलाई बिरामी हुनबाट जोगाउन नगरपालिकाको तर्फबाट झुल वितरण गरेका हौँ”, उनले भने, 'एउटा झुल पर्याप्त नभए पनि समुदायमा लामखुट्टेको टोकाइबाट लाग्ने प्राणघातक रोगबाट बच्न झुल लगाउनुपर्छ भन्ने चेतना जागृत हुनेछ । स्थानीयको मागअनुसार नै झुल वितरण गरिएको हो ।'
प्रतिक्रिया