संसद गफ गर्ने अखाडा कि बाहुबल प्रयोग गर्ने थलो ?

शुक्रबार, ०४ जेठ २०८१, १० : २०

काठमाडौं – संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सर्वोच्च निकाय हो । तर संसदलाई चनिीयाँ नेता माओले गफ गर्ने अखडा भनेका थिए भने लेनिनले खसीको मासु देखाएर कुकुरको मासु बेच्ने थलो भनेर संसदीय व्यवस्थाको आलोचना गरेका थिए । खासगरी कम्युनिष्ट पार्टीहरुमा यो विश्लेषणको व्यापक उल्लेख गर्ने गरिन्थ्यो । तर अहिले कम्युनिष्ट पार्टीहरु नै संसदमा गएका छन् र उनीहरु त्यहाँबाटै निर्वाचित भएर सत्ता पनि चलाइरहेका छन् । तापनि संसदीय व्यवस्थामा संसद्को निकै ठूलो महत्व र गरिमा छ । तर, बेलाबेला संसदभित्रै सांसदबाट अमर्यादित र अराजक व्यवहार देखिन्छ । बिहीबार प्रतिनिधिसभा बैठकमा फरक दृष्य देखियो ।


नेपालको संसदमा पनि विभिन्न कालखण्डामा तोडफोड र अभद्र व्यवहाराका घटनाहरु भएका छन् । गाृल्छे सार्कीले रामचन्द्र पौडेललाई मुक्का हानेको घटना अहिले पनि स्मरण गरिन्छ । त्यस्तै तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट प्रस्तुत गर्न खोज्दा माओवादी सांसदहरुले बजेटको ब्रिफकेस नै खोसेर फुटाइदिएको घटना पनि संसदीय कारबाहीका चर्चित घटना हुन । त्यस्तै नेपाली कांग्रेसले विभिन्न सहकारीको रकम हिनामिना भएको र त्यसमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि उनीमाथि छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै विगत केहि महिनादेखि संसद अवरुद्ध गर्दै आइरहेको  अवस्थामा संसदमा भएको घम्साघम्सीको घटना पनि संसदीय इतिहासमा उल्लेख्य नै हुनेछ ।  
हिजो बिहीबार पनि प्रतिनिधिसभा बैठक बसेको थियो । यसअघिका बैठकमा झैं कांग्रेस सांसदहरुले नाराबाजी गरे । वेल घेराउ गरे । सभामुख घिमिरेले पनि गर्नैपर्ने कामहरु बाँकी रहेको भन्दै सांसदहरुलाई आफ्नो स्थानमा बस्न आग्रह गरे ।

अघिल्ला बैठकमा अरुमा यसरी आग्रह गर्दा नाराबाजी नरोकेपछि बैठक स्थगित हुन्थ्यो । बिहीबार सभामुखले नाराबाजीका बीच संसदको कारबाही अगाडि बढाए । विपक्षी बेञ्चमा रहेका राप्रपा र लोसपाका सांसदहरु उठेर विरोध गरे, तर रोकिएनन् । उनले विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

वेलमा रहेका कांग्रेस सांसदहरुले सभामुखतर्फ प्रश्न गर्दै चर्को नाराबाजी गरे । सभामुख पनि चर्को स्वरमै राष्ट्रपति कार्यालयबाट आएको अर्को पत्र सुनिने गरी वाचन गर्न थाले । कांग्रेस सांसदहरुले चर्को नाराबाजी गरेपछि केहीबेर रोकिए ।

सभामुख फेरि अगाडि बढे । उनले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको मन्त्रिपरिषद हेरफेरसम्बन्धी पत्र वाचन गरे । लगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्रीले बोल्न समय मागेको र बोल्न दिनुपर्छ भन्ने आवाज उठेको भन्दै समय दिए ।

सभामुखले समय दिइसक्दा नसक्दै कांग्रेस सांसदहरु गृहमन्त्रीलाई रोक्न लागे भने सत्तारुढ सांसदहरु आ–आफ्नो स्थानमा उभिएर बोल्न दिनुपर्छ भनेर हुटिङ गरे । यसले संसदमा तनाव बढायो । गृहमन्त्रीलाई छेक्न कांग्रेसका सांसद धनराज गुरुङ सत्तापक्षको बेन्च नजिक पुगे ।

‘संसदीय छानबिन समिति गठन गर’ भनेर नारा लगाइरहे । छेउमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफ्नो सिटबाट उठेर ‘तपाईं यहाँ उभिने होइन, हट्नुस्’ धनराजतर्फ अघि सरे ।

गुरुङले पनि ओलीतिर फर्किएर चर्को स्वरमा नारा लगाइरहे । ओली र गुरुङ मुखामुख भएपछि कांग्रेस र एमाले वेलमै आमुन्नेसामुन्ने भए । एमाले सांसदहरु कांग्रेस सांसदहरुलाई धकेल्दै गृहमन्त्री लामिछानेलाई रोष्ट्रम जाने बाटो खाली गराउन खोज्दै थिए । कांग्रेस सांसदहरु गृहमन्त्री लामिछानेलाई बाटो नदिन लागे । त्यसक्रममा दुवै दलका सांसदहरुबीच धकेलाधकेल भयो । त्यसपछि सभामुखले बैठक स्थगित गरे ।

नेपालको संसदीय इतिहास मुठभेडको स्थिती सिर्जना भएको यो पहिलो घटना होइन । र अन्तिम पनि होला भन्न सकिने आधार छैन । यसअघि पनि कयौं झडप र मुठभेडहरू भएका छन् । र आगामी दिनमा पनि हुनेछन् ।

दलहरू संसदीय मर्यादाप्रति गम्भीर नहुँदा, सरकारले विपक्षीलाई विश्वासमा लिन नसक्दा, प्रतिपक्षले सरकारप्रति प्रतिशोध साँध्ने स्थानको रुपमा सदनलाई प्रयोग गर्दा र सभामुखहरूले पनि सत्ता–प्रतिपक्षीबीचको टकराव प्रकट गर्ने थलोको रुपमा सदनलाई प्रयोग हुन नदिने चलाखी अपनाउन नसक्दा बेलाबेला धकेलाधकेल हुने गरेका छन् ।
उपर्युक्त घटनाक्रमहरुले संसद देश र जनताका समस्याहरुको बारेमा छलफल गर्ने र तिनीहरुको समाधानको लागि उपयुक्त विधि खोज्ने थलो नबनेर गफ गर्ने र झगडा गर्ने थलोको रुपमा चिनिन थालेको छ । सांसदहरु केवल झगडा गरेर भत्ता पचाउने काम मात्र गरेका छन् भन्ने आलोचनालाई आफै प्रमाणित गरिरहेका छन् भन्ने यी घटनाहरुले देखाएका छन् ।  

शुक्रबार, ०४ जेठ २०८१, १० : २०

प्रतिक्रिया