काठमाडौँ - तुलसिपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्घाटन मोबाइल एप्सबाट गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलले कलेजमा अध्ययरत विद्यार्थीहरूले तयार पारिएको मोबाइल एप्सबाट भवनको उद्घाटन गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसीपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयमा ३७ जिल्लाका १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजका प्रमुख वसन्त आचार्यले २३ जना विद्यार्थीबाट सुरु भएको कलेजमा अहिले १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजमा स्नातक तहमा कानुन र डिप्लोमा तहमा ६ वटा र प्रिडिप्लोमा तहमा ३ वटा प्राविधिक विषय अध्यापन भइरहेको छ ।
कलेजमा तुलसीपुर उपमहानगरपालिकाभित्र एसइइ उत्तीर्ण गरेका तीन छात्राले निःशुल्क अध्ययन गरिरहेका छन् । लुम्बिनी प्रदेशको १८ करोड बजेटमा भवन निर्माण भएको हो । भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलले पालिकाको गौरव योजनालाई प्रदेश सरकारले साथ सहयोग गरेको बताए । उनले पश्चिम नेपालकै शिक्षाको हबका रूपमा विकास गर्न सक्षम रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथिले नेपालको शिक्षामा सीप र क्षमतालाई आत्मसात् गर्न नसक्दा युवा वैदेशिक रोजगारतर्फ उन्मुख रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेशकै अनुकरणीय उदाहरणीय शिक्षालय भएकाले प्रदेश सरकारबाट सहयोग गरिने बताए। कार्यक्रममा नगरप्रमुख एवम् सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्काले शिक्षालयमा थप विषयहरू थपिने बताए ।
प्रतिक्रिया