काठमाडौँ - काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गत वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आव्हान गरेको महानगरले कक्षा सञ्चालन गर्न थालेको हो ।
महानगरको सो सूचनामा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो । यसरी कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका रहेका छन् । यस्तै १०५ जना शाखा अधिकृत पदका लागि रहेका छन् । आज कार्यक्रम थालनी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै वौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए ।
नेपाल सरकारका पूर्व सचिव एवम् कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले, वौद्धिक क्षमता र सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखे । तालिम संयोजक रितु कर्णकाअनुसार तालिम आउँदो भाद्र महिनासम्म चल्नेछ ।
प्रतिक्रिया